यशाेदा चाैलागाईँ
काठमाडाैं । विश्वभर फैलिरहेको कोभिडका कारण अस्तव्यस्त भएकाे पर्यटकीय क्षेत्र पूर्ण चलायमान बनाउने उद्देश्यले नाट्टा सुदूरपश्चिम र माउन्टेन हेलिकप्टर प्रालिको पहलमा खप्तड बडिमालिका हेली टूर आयोजना गरिने भएको छ । उक्त हेली टूर फागुन १ देखि १० गतेसम्म सञ्चालन हुने जानकारी गराइएकाे छ ।
विश्व कोभिड १९ का कारण करिब २ वर्षदेखि आक्रान्त छ । अग्लाअग्ला हिमाल र सुन्दर ठाउँ भएको नेपालमा पर्यटनको उच्च सम्भावना भएपनि कोरोनाको जोखिमका कारण शिथिल अवस्थामा रहेकाे छ ।
विभिन्न ऋतुहरूमा पर्यटकहरु घुम्न आउने हिमालहरुमा आजभोली खासै पर्यटक देखिदैनन् । विश्वकै सुन्दर स्थानमा पर्ने पर्यटकीय देश नेपाल आन्तरिक तथा आगन्तुक पर्यटकहरुको पर्खाइमा रहेकाे छ। पर्यटकहरुको पर्खाइमा रहेका पर्यटन व्यवसायी पनि पर्यटकको आगमनको प्रतिक्षामा बसेका छन् ।
विगत २ वर्षदेखि कोभिडका कारण ठप्प भएको पर्यटन क्षेत्र पुन: चलायमान बनाउने उद्देश्यले 'सुदूरपश्चिमको आवाज, पर्यटनको विकास' मूल नारासहित माउन्टेन हेलिकप्टर प्रालि नाट्टा सुदूरपश्चिम प्रदेशको सहकार्यमा खप्तड बडिमालिका हेली टूर आयोजना गरिने भएको छ । सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य खप्तड बडिमालिका लगायतका स्थानमा छपक्कै हिउँले ढाकेकाे छ । त्यही सेताम्य र मनमोहक दृश्य अवलोकन गर्ने चाहना भएका पर्यटकहरुका लागि हेलि टुरको आयोजना गरिएको माउन्टेन हेलिकप्टर प्रालिका निर्देशक दिलबहादुर वली बताउनुहुन्छ ।
हिउँको मौसम भएको हुँदा आन्तरिक पर्यटकहरुलाई खप्तड र बडिमालिकाको दर्शन तथा हिउँसँग स्पर्स गराउने उद्देश्यले हेली टूर आयोजना गरिएको हो । उक्त पर्यटकीय स्थलमा पर्यटनका लागि होमस्टे स्थापना गर्न र व्यवसायीहरुलाई व्यवसाय चलाउन दिन व्यवसायीहरुले पर्यटन बोर्डलाई अनुरोध गरेका छन् ।
ओझेलमा परेको सुदूरपश्चिममा पर्यटकहरु घुम्नु पर्ने थुप्रै ठाँउहरु रहेका छन् । सुदूरपश्चिमबाट नै पर्यटकीय स्थल शुरु हुन्छ भन्दा पनि फरक नपर्ला । फागुन १ देखि १० सम्म शुरु हुने पर्यटकीय भ्रमणले सुस्ताएको पर्यटन क्षेत्रलाई पूर्ण चलायमान बनाउन सहयोग पुग्नेछ भन्नेमा दुइमत छैन ।
दश दिनको अवधिमा कम्तिमा पनि ३५० जना आन्तरिक पर्यटनलाई खप्तड र बडिमालिका भ्रमण गराउने लक्ष्य सुदूरपश्चिम प्रदेशले लिएको छ । आशा गरौं उक्त भम्रणले सुस्ताएको पर्यटनलाई उठाउने छ र फेरि पनि देशमा हिमाल हेर्न र विशेष गरी सुदूरपश्चिम घुम्न पर्यटकहरुको आगमन हुनेछ ।