शम्भुजीत दाहाल
झापा । मेचीनगर १४ मा रहेकाे मगमग चाउचाउ करखानामा भएकाे आगलागी झण्डै ११ घण्टापछि नियन्त्रणमा आएको छ । शनिवार बिहान साढे चार बजेदेखि शुरु भएको आगलागी दिउँसो ३ बजे नियन्त्रणमा आएको हाे ।
उद्योगमा लागेको आगो नियन्त्रणमा आएको उद्योगका सञ्चालक अजय अग्रवालले जानकारी दिनुभयो । आगलागीबाट उद्योग परिसरमा रहेको कच्चापदार्थ तथा मेसिन जलेर नष्ट भएको अग्रवालले बताउनुभयो।
उद्योगको उत्पादन अन्तर्राष्ट्रिय बजारमा पुर्याउने लक्ष्यका साथ २०७५ साल भदौमा झापाकै व्यवसायी वुद्धि घिमिरे, अजय अग्रवाल, ओमप्रकाश अग्रवाल, गणेश प्याकुरेल, पर्शुराम अग्रवालले १ अर्ब लगानीमा उद्योग सञ्चालनमा ल्याएका थिए ।
भौतिक संरचना, कच्चापदार्थ, मेसिन सबै जलेकाले अहिले नै क्षतिको विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी बसन्त पाठकले जानकारी दिनुभयो। आगो निभाउन झापा, इलाम मोरङ, सुनसरीका १५ वटा दमकल प्रयोग गरिएको पाठक बताउँछन् । ती दमकलले निरन्तर प्रयास गर्दा बल्लतल्ल आगो नियन्त्रणमा आएको बताइएको छ ।
‘उद्योग परिसरमा भएको मुख्य तीन वटा भवनमध्ये एउटा कार्यालय भवन मात्र बचेको छ । बाँकी दुई वटा भवन जलेर नष्ट भएको तथा उद्योगका सबै प्लान्टहरू ध्वस्त भएका छन्’ डिएसपी थापाले भन्नुभयाे ।
केही खाने तेलका ट्याङ्की भने आगलागीबाट बचाउन सकेको पाठक बताउनु हुन्छ।