–मोहनप्रसाद मैनाली
सदाझैँ आज पनि सोहन कार्यालय गयो, फरक यत्ति थियो कि अरू दिन दश बजे पुग्ने सोहन आज बिहान ६ बजे नै पुग्यो । कारण कामको चाप थियो । धर्मकर्म तथा आफ्नो पूर्खाले मान्दै आएका सबै संस्कार यथावत् स्वीकारेर आत्मसात् गरिरहेको सोहनले आजको सम्पूर्ण धार्मिक कार्य कार्यालयमै सम्पन्न गर्यो।
कार्यालयमा सेवाग्राहीको यति भीड थियो कि सोहनलाई यस्तो कामको अफिस खोलेकोमा कहिलेकहीँ पछुतो पनि लाग्ने गर्थ्याे । पाँच वर्षअगाडि सरकारी जागिर छोडेर निजी अफिस खोलेको थियो । कार्गोको काम हुने उसको अफिसमा केही कर्मचारी कार्यरत थिए । कर्मचारीलाई बिहानै किन दुःख दिनु भन्ने सोचका साथ कसैलाई नबोलाई ऊ मात्रै बिहानैदेखि खटिएको थियो ।
चिया पनि पिउन पाएको थिएन, रिसेप्सनकी कर्मचारी सारिकाले ‘गुड मर्निङ सर’ भनेपछि ‘मर्निङ’ भन्दै भित्तामा झुण्डिएको घडीतर्फ नजर दौडायो । दश बजेर पनि ४५ मिनेट गइसकेको रहेछ । किन यति ढिला गरेको सारिका ? सेवाग्राहीको चाप बढेकाले काममा अग्रसरता देखाउन र सबै कर्मचारीलाई काममा खटिन निर्देशन दियो सोहनले ।
सबै कर्मचारी आआफ्नो काममा गइसकेपछि सारिका चुपचाप उभिएको देखेर सोहनले सोध्यो, ‘किन काममा नगएकी सारिका ? के भयो तिमीलाई ?’ सारिकाले भनिन्, ‘सर आज छुट्टी चाहिएको थियो ।’ ओहो ! ‘आजै यस्तो कामको चाप भएको बेला किन चाहियो तिमीलाई छुट्टी ?’ सारिकाले लजाउँदै भनिन्, ‘सर, आज भ्यालेन्टाइन डे, त्यही भएर ।’ सोहनले कुरा बुझिहाल्यो ।
अनायास उसको मानसपटलमा पाँच वर्षअघिको प्रेम कहानीको दृश्य झल्झल्ती टेलिभिजनको पर्दामा जस्तै नाच्न थाल्यो । आँखा चिम्लिएर त्यो बेलाको रङ्गीन दुनियाँमा प्रवेश मात्र के गरेको थियो, सारिकाले फेरि भनिन्, ‘सर म जाउँ ?’ निद्राबाट ब्युँझिए जस्तै उसले भन्यो ‘जाऊ ।’
पाँच वर्षअघि सरकारी जागिर खाँदा सोहनलाई यस्तै संयोग परेको थियो । उसकी प्रेमिकाले बोलाएको समयमा आफूले दिएको वचन पूरा गर्न हाकिमसँग बिदा माग्दा नदिएको र त्यही तोडमा उसले जागिरसमेत छोडेको थियो । उसको विगत्ले आफूलाई त पिरोल्यो नै, अरूको त्यस्तो अवस्था नआयोस् भन्ने मनसायले कामको चाप हुँदाहुँदै पनि सारिकालाई बिदा दियो ।
पाँच वर्षअघि मनाएको भ्यालेन्टाइनलाई आज राम्रैसँग उग्राये सोहनले । कामको चापले घरमा त्यति समय दिन नपाएको उसले श्रीमतीका लागि केही उपहार लिएर अलि छिट्टै घर जाने निर्णय गर्यो । विगतमा भ्यालेन्टाइन डे मनाउँदा सात दिनसम्म गरेका विभिन्न क्रियाकलाप पनि उसको मानसपटलमा ताजै भएर आइरह्यो । हुन त उसलाई आज काम गर्न पटक्कै मन लागेको थिएन । तर पनि सार्वजनिक कामको जिम्मा आफ्नै रहेकाले पहिलो प्राथमिकता कामलाई नै दिने निधो गर्यो ।
बेलुका उपहारसहित श्रीमतीलाई अङ्कमाल गरेर हिजोको चुम्बन दिवसमा बिर्सिएको चुम्बन पनि गर्ने लगायतका परिकल्पना मनमा सजाएर ऊ आफ्नो काममा व्यस्त रह्यो ।
६ बजेपछि कार्यालयमा कामको चाप पनि कम भएकाले कर्मचारीलाई कामको जिम्मा लगाएर सोहन सुपरमार्केट गयो । श्रीमतीका लागि केही उपहार खरिद गरेर समयमै घर पुग्यो । आफ्नो कार ग्यारेजमा थन्क्याएर सरासर घरभित्र पस्यो । ३ वर्षकी छोरी बाबा भन्दै हात समाउन आइपुगिन् । मुस्कुराउँदै छोरीलाई छातिमा टाँस्यो । छोरीको दुवै गालामा चुम्बनको अपार माया दर्शाउँदै ऊ घरभित्र पस्यो ।
उसकी श्रीमती बरण्डामा बसेर मोबाइलमा कुरा गरिरहेकी थिइन् । उसले टाढैबाट सुन्यो कि श्रीमती उनकै बहिनीसँग कुरा गरिरहेकी छिन् ।
उनी भन्दै थिइन्, ‘भिनाजुले आज बिहानको खाना बाहिरै खानुभयो, भोलि बिहान खाना बनाउँन भ्याउने गरी आउँ है !’ श्रीमतीको यस्तो कुरा सुनेर सोहन छक्क पर्यो र बाँकी कुरा पनि सुन्यो । उनी भन्दै थिइन्, ‘हेर न आज बिहानै पर सरेँ भन्या ।’
यस्तो सुनेर सोहनको हातबाट उपहारका सामानहरू भूइँमा खसे । निःशब्द बन्यो । दुवैको हेराहेर भयो । दुवैजनाले आँखामै बोले, एकआपसका भाषा बुझे र आआफ्ना कामतिर लागे । उनीहरूले एकआपसमा न त अङ्कमाल नै गर्नसके न त चुम्बन नै । कारण : धार्मिक (कु) संस्कारमा हुर्किएका सोहन र उनकी श्रीमतीलाई यस्तो समयमा ‘लसपस’ गर्ने कुनै छुट थिएन ।