काठमाडौँ । संसदीय व्यवस्थापन समितिको बैठक मंगलवार बस्दैछ ।
समितिको बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पनि हभागी हुने सभापति परशुराम मेघी गुरुङले जानकारी दिनुभयो ।
अध्यक्ष तिमिल्सिनाले संसदीय समितिका काम कारवाहीलाई प्रभावकारी तुल्याउन र सदस्यलाई प्रोत्साहन गर्न समिति बैठकमा सहभागी हुन लाग्नुभएको हो ।
धुलिखेलमा गत बिहीबार भएको प्रदेशसभाका उपसभामुखसँगको अनुभव आदान–प्रदान कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले अनुकूलताका आधारमा समिति बैठकमा सहभागी हुने अभ्यासको थालनी गर्ने घोषणा गर्नुभएको थियो ।
विधायन व्यवस्थापन समितिमा सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफल प्रतिवेदन निर्माणको चरणमा छ ।
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले सभामुख र अध्यक्ष भनेको फूलहाउसको नेता भएकाले समितिलाई निर्देशन दिने, आवश्यकतानुसार बैठकमा सहभागी हुने सामान्य विषय भएको प्रतिक्रिया दिनुभयो । समिति आफैं मिनी पार्लियामेन्ट भएकोले त्यसले गर्ने सम्पूर्ण कामकारवाहीले फूलहाउसलाई सहयोग पुर्याउने बताउनुभयो ।
विगतमा पनि कार्यसूची र विषयवस्तुका गाम्भीर्यताका आधारमा समितिका बैठक संयुक्त बस्ने गरेको तथा त्यस्ता बैठकमा सभामुखको पनि उपस्थितिको अभ्यास भइसकेको बताइएको छ ।
राष्ट्रियसभा मातहत दीगो विकास तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समिति छन् ।