-गीता ज्ञवाली
म साँझपख ताजा हावा खाने हेतुले पार्क तिर निस्केँ । भर्खर घाम डुबेर साँझ धमिलिँदै थियो, वरिपरि धेरै मानिसहरु आ–आफ्नै सुरमा मस्त टहलिइरहका देखिन्थे । म पनि यत्तिकै टहलिँदै त्यस ठाउँमा पुगेकी थिएँ । साँझको मौसम सफा र रमणीय लाग्दथ्यो । म नजिकैको एउटा ढिस्कोमा टुक्रुक्क आफैलाई अप्ठ्यारो हुने गरी बसेँ र वरिपरिको वातावरण नियाल्न थालेँ । यत्तिकैमा कोही आएर मेरो नजिकै बसेको मलाई अनुभूत भयो र फर्खेर हेरेँ । त्यहाँ साँच्चै नै कोही थियो । म उठ्न खोजें ।
उसले भन्यो –बस्नुस् न किन हिड्न लाग्नु भाको । म हजुरसँग केही जिज्ञाशा राख्ने मनसायले यहाँ बसेको हजुरलाई अप्ठेरो पर्दैन भने, म केही सोधुँ ?
एकछिन त म अक्कन बक्क भएँ, कहिल्यै कतै नदेखेको, नचिनेको मान्छे यसरी नजिकै आएर के भन्न खोज्दै छ ? मैले अल्मलिँदै उत्तर दिएँ भन्नुस् के होला ?
मनमनै सोचेँ आजभन्दा अगाडि कहिल्यै यो मान्छेलाई मैले देखिनँ यो ठाउँको मान्छे पनि होइन, यो आफ्नो ठाउँ भएकोले केही त मलाई हेक्का छ, यो मान्छेलाई जीवनमा प्रथम पटक देख्दैछु । अनि फेरि मसँग के जिज्ञाशा होला ?
उसले फेरि बोल्यो सोधुँ ?
म झसँग भएँ र भने सोध्नुस् न बरु छिटो भन्नुस् म फर्किनु छ, मैले त्रासमय बोलीमा उसलाई जवाफ दिएको देखेर उसले भन्यो –त्यस्तो डराउनु पर्ने र आत्तिहाल्नु पर्ने केही विषय होइन, बरु हाम्रो भेट यो भन्दा पहिले पनि कतै भएको हुनुपर्छ तर मलाई याद भएन कहाँ भेट्यौं हामी तर परिचित हौं जस्तो लागिरहेको छ ।
मलाई झन झन डरले मुटु ढुकढुक भइसकेको थियो र लागिरहको थियो कि उसले कुरा नगरे पनि हुन्थ्यो ।
उसले बोल्यो– अँ म केही भन्न खोज्दै थिएँ कुरा अर्कै तिर मोडिएछ ।
मेरो मनमा प्रश्नका प्रहारहरु बज्रन थाले, एकपछि अर्को गर्दै यसरी मनमा कुरा खेलाइरहेकीले होला उसका कुरा राम्ररी सुन्न पनि सकेकी थिइनँ । केवल अँअँ बोेलेर मात्र सही थामेजस्तो गरेकी थिएँ मैले । उसको मुखमा हेरेर, कोट्याउँदै, समर्थन लिने बानी रहेछ, बोल्दा बेला बेला समर्थन खोजे जस्तो भान मलाई हुन्थ्यो र ए अँ अँ आवाज दिन्थें म, उसले कुरा यसरी सुरु ग¥यो ।
‘म केही समय अगाडि आफ्नी श्रीमतीलाई लिएर यो ठाउँमा आएको थिएँ । मेरी श्रीमती मसँग लाडिएर कुरा गर्ने मात्र होइन अरुको अघि पनि एकान्त कोठामा जस्तै लाज नमानी पेश हँुन्थी मलाई त्यो पटक्कै मन पर्दैनथ्यो । म उसलाई धेरै पटक सम्झाउथें तर उसको जवाफ हुन्थ्यो कि भाडामा खोजेको हो र ? अरुसँग जिस्केको हो र ? अरुले के भन्छ सँग मलाई केही मतलव छैन तिमीले के भन्छौ र सोच्छौ मलाई त्यो कुराले फरक पार्छ । अनि म यो मान्छेसँग बोलेर केही फाइदा छैन भनेर केवल सुनिदिन्थें । उसले भनेको नमाने ऊ कराइरहन्थी एक कचकचे श्रीमती जस्तो । ऊ बोलेर कहिल्यै थाक्दिनथी । मेरा कान भाटिन्थे, कहिले त कता गएर मरु जस्तो लाथ्यो फेरि एकैछिनमा ऊ आँखा वरिपरि नभए अत्तालिन्थें । बिर्सिन्थें मर्ने कुरा मानौं ऊ विना मर्न पनि नसक्ने भएको थिएँ ।
अब उसले अगाडि बोल्दै थियो ।
मैले मनमनै यी सब आफ्ना श्रीमान् श्रीमतीका बीचको कुरा त्यो पनि म अपरिचित महिलासँग किन भनिरहेको छ, त्यसमा पनि मसँग परिचय गरेको छैन । अरु केही कुरा भएकै छैन । म निकै आश्चर्य चकित थिएँ यो सब देखेर । तर ऊ मसँग मानांै बाल्यकालका साथी जस्तो व्यवहार गरिहेको थियो । कतिबेला कोट्याउथ्यो, कतिबेला तपाईं । तिमी हुँदै हेर केटी भन्नसम्म भ्याउँथ्यो र बीचबीचमा सम्झँदा मात्र हजुर तपाईं भन्थ्यो । उसको यो गतिविधि मैले निकै गम्भिरतापूर्वक नियालीरहेकी थिएँ । त्यसपछि म उसको कुरालाई बीचैमा काटेर बोलेँ तपाईंले यी सबै कुरा किन गरिरहनु भएको छ, मलाई हतार छ । मलाई यी सब कुरा सुन्ने समय छैन ।
उसले मलाई रोक्यो र भन्यो– होइन मेरो कुरा धेरै छैन, म छिटै सक्छु, कृपया म छिटै सक्छु, उसले फेरि कर गरेकोले ल ल छिटो सक्नुस् भन्ने मेरो अनुमति पाएपछि उसले कुरा अगाडि बढायो ।
‘उसको गालि र अपमान धेरै सहेर धेरै पटक मरेको छु, तर पनि ऊ विना न त बाँच्न न त मर्न नै सक्ने भएको छु जस्तो लाग्थ्यो मलाई । उसले त हरेक पटक मायाको बाहानामा धेरै अपमान गरेजस्तो मात्र भान हुन्थ्यो तर म केवल बाँचिरहेको छु मर्ने दिन नआउँदासम्म जस्तो लाग्थ्यो मलाई । एक पटक त म आफूलाई प्रकृतिसँग समाहित गर्छु भनेर स्मसान घाटको मान्छे पोल्ने ठाउँमा बसेर रातीको करिब एघार बजे देखि विहान चार बजेसम्म पूरा ध्यानमग्न भएर बसेको छु । तर यो कारणले उसलाई कति तनाव झेल्नु प¥यो आजसम्म एकपटक सोधेको छैन । फेरि मौका पनि त पाएको छैन, भेट हुँदा त म बोल्ने अवसर निकै कम आउँथ्यो । उसले अगाडि बोल्दै गयो– हुन त ऊ सँगका जति धेरै तितापल छन् त्यति नै मिठापल पनि छन् । फरक यत्ति हो कि मिठापल हृदयको कुनामा लुकेर उसको याद दिलाइरहन्छन् भने नमिठापल काँडा बनेर मुटुमा बिझीरहन्छन् । ऊ मेरो रुचीमा भन्दा बाहिर आवरण रुपी संसारमा के चलेको छ, अरुले के सोच्छन् भन्ने कुरामा बढी केन्द्रित हुन्थी जुन कुरा मलाई पटक्कै मन पर्दैनथ्यो । हाम्रो विवाद पनि यसै विषयलाई लिएर भैरहनथ्यो । मलाई अचम्म लाग्न थाल्यो कि यो मान्छेले मैले भोगेजस्ता कुरा किन भनिरहेको ।
उसले अगाडि भनिरहेको थियो– उसलाई मेरो हरेक कुरामा झ्याउ मान्ने बानी मन पर्दैनथ्यो उसको हमेशा गुनासो रहन्थ्यो, घुम्न जाऊँ न भन्यो नाइँ, बजार जाऊँ न भन्यो नाइँ मुभी हेरौं न भन्यो नाइँ, सपिङ जाऊँ न भन्यो नाइँ, यस्तो चिज खान मन छ भन्यो नाइँ, आफन्त साथीभाइ भेटौं भन्यो नाइँ यो मान्छे हो कि मुर्ति हो, हे प्रभो ! मलाई के यस्तो गलघण्ट जुटाइदियौं नि फाल्न न झुण्डाउन भनेर ।
आज तपाईं एक्लै ? अनि खै त तपाईंलाई त्यति धेरै केयर र कचकच गर्ने श्रीमती ?
तर उसले यति भनिरहँदा उसको माया म नजिकबाट नियाल्न सक्थेँ, महसुस गर्न सक्थेँ उसले बोलेको यी कुरा केवल मलाई परिवर्तन गराउनका लागि हुँन्थे र एकैछिनमा उ किन यस्तो भनेँ भनेर पछुताउँथी । यी सब कुरा उसको अनुहारमा झल्किन्थ्यो ।
मेरो यो प्रश्नको जवाफ दिँदै उसले भन्यो मेरो कुरा सकिनै लाग्यो म तपाईंकै प्रश्नको जवाफको नजिकै आइपुग्दैछु, अब एकै मिनेट मात्र लिएँ है तपाईंको समय अनि त्यसपछि चिया खाऊँ न ? गफ गर्दै चिया पिउँदा कुरो पनि टुङ्किन्छ ।
मैले भने पर्दैन मलाई हतार छ, मलाई नरोक्नुस्, यी कुरा कुनै नौलो जस्तो लाग्दैन । सबैको जीवनमा कतै कतै घटिरहेकै हुन्छन् ? उसले थप्यो –हैन हैन फेरि उसले कर गरेरै रोक्न खोज्यो – अझ मुख्य कुरो त भन्न बाँकि नै छ, उसको अलि अलि बिनाकारण, बिनानिउ, बिना उद्देश्य, झूट बोल्ने बानी थियो मेरो प्रयत्न उसको यो बानी कसरी सुध्रोस् भनेर हरेक पटक झक्झकाइरहँथेँ परिणाम जस्तो सुकै आएपनि झूट बोल्न हुँदैन भन्ने कुरामा प्रेरित गेर्थें र उसले एक छिन त मनन गर्थी तर पुनः दोहो¥याएर गल्ती गर्थी । मलाई यस्ता ससाना कुराले पनि ठूलो चोट दिन्थ्यो । झूटो बोल्नै नपर्ने कुरामा झूटो बोलिदिन्थी तर जे कुरा बोल्न विचार गर्नुपथ्र्यो त्यो कुरा अनायासै बोलिदिन्थी । एक हिसाबले भन्दा एकदमै निर्दोष र निश्चल जस्तो लाग्थ्यो उसको बानी मलाई यति भन्दा नभन्दै उसका आँखा रसाए, मुटु भक्कानिएछ क्यारे उसको आवाज रोकियो ।
मैले सोधेँ त्यसपछि के भयो ?
ऊ बोल्दै गयो, हामी एक दिन यस पार्कमा यसरी नै साँझको चिसो हावा खाँदै रमाइरहेका थियौं, ऊ त्यसरी नै लाडिएर भाडामा खोजेको हो र ? भन्दै मेरो काखमा लुट्पुटिँदै थिई म वरिपरिका मान्छे देखेर लजाइरहेको थिएँ । त्यसपछि ..
के भो त्यसपछि ?
त्यसदिन देखि आजसम्म म यो पार्कमा आउन छाडेको छैन, हरेक दिन उसलाई यसरी नै यही देख्ने अभिलाषामा ।
त्यो त मैले देखेँ नि त्यो दिन के भएको थियो भन्नुस् मलाई त्यो सुन्न हतार भयो मैले उसलाई कर गरिरहेँ अब त यो कहानीले मलाई निकै कौतुहलता उब्जाइदिएको थियो । त्यसैले म घर छिटो जाने कुरा बिर्सेर उसको कुरामा ध्यानमग्न भएँ ।
त्यसपछि यसरी रमणीय वातावरणमा रमाउँदा रमाउँदै एक अर्का बिचमा जीवनका योजना तर्जुमा गर्दागर्दै कहिले म उसको त कहिले उ मेरो काखमा निदाएको पत्तै हुँदैनथ्यो र कति खेर बिउँझिन्थ्यौं र घर तिर लाग्थ्यौं ।
अनि ? अनि के भयो के ?
आफ्नो अगाडि उभिएर एक पुरुषले यसरी कुरा चपाई चपाई अड्कलेर बोल्दा निकै रिस उठिरहेको थियो मलाई तर केही नबोली उसका कुरा सुनिरहेँ
सोधेँ आखिर के भयो त त्यस्तो ? उसले अगाडि थप्दै गयो अझ उसलाई पौडि खेल्न आउँदैनथ्यो मैले उसलाई कति पटक ऊ त्यो पोखरीको बीचको गहिरो भागमा लगेर छोडेको छु, उसलाई सिकाउने बहानामा अलि दुःख दिएर रमाउने मेरो बानी थियो । ऊ आत्तिएको, छट्पटाएको, देख्दा मलाई कुराएको सम्झेर आनन्द लिन्थेँ । ऊ भने निकै गहिरो पिर मानेर रुन्थी । यस्ता कैयौं घटना छन् हाम्रो स्मरणमा सायद उसलाई पनि यी सब कुरा याद होलान् ।
अनि मैले रिसाएकै आवाजमा भनेँ यी सब कुरा याद हुनलाई त कुरा साँचो हुनु प¥यो, मान्छे जिउँदो हुनुप¥यो, तब न याद हुन्छ । अन्यथा त सम्भव छैन नि ।
किन र तपाईंलाई लाग्दैन ?
यो सब साँचो हो, अनि उ जिउँदै छ यो धर्तिमा भन्ने कुरामा ?
यो सब भन्न त पहिले कुरा सबै कुरा सुन्नु पर्छ, थाहा पाउनु पर्छ अनि आफ्नो धारणा बनाउन सकिन्छ ।
हो त्यही कुरा धेरै दिन देखि म उसैलाई भेटेर भन्ने कोशिस गरिरहेको छु । सकिरहेको छैन । ऊ मेरी हो । हाम्रो जीवन परिवर्तन भएको छैन । म पनि मरेको छैन र ऊ पनि मरेकी छैन । यसै जुनीमा छौं दुवै जना तर केवल अपरिचित जस्तै । ऊ अन्जान मै मलाई पर्खिरहेकी छे । म ऊसलाई पर्खिरहेको छु । अध्यारामा ढुंगा हान्न खोज्छु, आफ्नै खुट्टामा लाग्छ, आफ्नै झ्यालको सिसा फुट्छ, अनि आफ्नै पर्खाल भत्किन्छ कि भन्ने डर लाग्छ, र पछि हट्छु । ऊ सधै यही आउँछे । यही बस्छे र जान्छे म पनि सधैं यही आउँछु । यही बस्छु र जान्छु न त हाम्रंो भेट हुन्छ, न त कुराकानी, आजभोलि त हामी सुरज र सन्ध्या भएका छौं । औंशी र पूर्णिमा भएका छौं । एउटा मुसाफिर जस्तो म भौतारिइरहको छु । ऊ निस्फीक्री छ । म सामाजिक सिमाभित्र छु । ऊ स्वतन्त्र छ । आज फेरि उसले राखेको अविश्वासको प्रस्तावले मलाई बन्देज गरेको छ । कि मेरा पाइला अब मैले रोक्नु पर्छ, यो धर्ती उल्टिनु पर्छ । आकाश खस्नु पर्छ । म खुम्चिनु पर्छ । अनायासै मन भित्रको जवाफ आयो होइन होइन उसको अविश्वासको प्रस्ताव अब मलाई मान्य हुने छैन । म आफू बच्नु छ । उसको आवेगलाई तोड्नु छ । एक पटक फेरि उसैको खोजीमा अनि भेटें उसलाई र आज यी सबै कुरा पोख्दैछु उ सँग ।
म झसँग भएँ
कोसँग खै
किन, म को हुँ ?
तिमी उनै मेरी जो पौडी पोखरीमा हाम फाल्दा बचेर पनि मरेकी, उनी हौं मैले र दुनियाँले आस मारेकी उनी हौं, मलाई संसारमा मरेर गएको मान्छे फर्कँदैन भन्ने विश्वासका विरुद्ध अविश्वासको प्रस्ताव फ्याक्ने परी हौं । मेरी उनी हौ । त्यसैले मैले यी सब कुरा भनिरहेको छु, आज यत्तिका वर्षपछि पनि म तिमीमा आफैलाई देखिरहेको छु । तिम्ले आफैभित्र मलाई खोजिरहेको देखिरहेको छु, अनि मसँगै उदाएर मसँगै अस्ताएका आँखामा म आफूलाई देखिरहेको छु, म मरेको छैन । मुनु म तिम्रै यादमा बाँचिरहेको छु तिम्रो राजु ।