कास्की । बेलायती राजदूत निकोला पोलिटले पोखरा–३१ स्थित वेगनास फेरोमा साइकल यात्रा गर्नुभएको छ । साइकल सिटी पोखराको समन्वय र सुदृढ परियोजनाको आयोजनामा उहाँले आज बिहान वेगनास फेरोको करिब १० किलोमिटर साइकल यात्रा गर्नुभएको हो ।
पोखरा महानगरपालिकाको कार्बन न्युटल डेभलपमेन्ट पथ कार्यक्रममा सहभागी हुन पोखरा आउनुभएका उहाँले कार्यक्रममा सहभागी हुनुपूर्व वेगनास फेरोमा साइकल यात्रा गर्नुभएको सृदृढ परियोजना पोखराका संयोजक होमनाथ गैह्रेले जानकारी दिनुभयो । उहाँका अनुसार पोलिटले आज बिहान साइकल सिटीका २० जना सदस्यसँगै लेखनाथका विभिन्न तालको दृश्यावलोकनसहित साइकल यात्रा गर्नुभएको हो ।
पोलिटले आफ्नो साइकल यात्राबारे अनुभव सुनाउँदै भन्नुभयो, “सोमबारको बिहान निकै रमाइलो भयो। माछापुच्छ्रेकाे सुन्दर दृश्य हेर्दै वेगनास वरिपरिको साइकल यात्रा मेरो लागि निकै रोमाञ्चक र अविस्मरणीय बन्यो ।”
कोभिड–१९ का कारणले विश्वव्यापी रुपमै पर्यटन क्षेत्रमा गम्भीर असर पारेको जनाउँदै उहाँले अब भिसा प्रोटोकल लुज हुँदै र कोरोना सङ्क्रमण दर घट्दै गएपछि नेपालमा पर्यटकको सङ्ख्या बढ्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो “नेपाल भुबनोटले असाध्यै सुन्दर छ, यहाँका मानिसहरूका आत्मीयता निकै लोभलाग्दो छ । कोरोना कम हुँदै गएपछि धेरैको रोजाइको शहर पोखरा बन्ने छ ।” उहाँले नेपालमा धेरै सुन्दर ठाउँहरू रहेको यसको प्रवद्र्धनको आवश्यक रहेको बताउनुभयो । उहाँले पर्यटकलाई साइकल रुटका बारेमा जानकारी दिन सके र साइकल मैत्री पूर्वाधार बनाउन सके पर्यटन प्रवर्द्धन हुँदै जाने बिश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा उहाँले नेपाल बिट्रिसको कूटनीतिक सम्बन्ध धेरै राम्रो भएको र बेलायतमा नेपाललाई हेर्ने दृष्टिकोण पनि निकै सकारात्मक रहेको बताउनुभयो । उहाँले बिट्रिसहरूले नेपालका अग्लाअग्ला पहाड हेर्न र हिमाल आरोहण गर्न निकै मन पराउने गरेको बताउनुभयो । राजदूत पोलिटले जलवायु परिवर्तनले नेपालको हिमालयन क्षेत्रमा परेको असरलाई पनि बेलायत सरकारले निकै चासोका रूपमा लिएको बताउनुभयो ।
साइकल सिटी पोखराका अध्यक्ष अभिषेक कोइरालाले लेखनाथको लामास्वाराँदेखि रामदीवेगनास, सुन्दरीडाँडा हुँदै वेगनास फेरोको साइकल यात्रा गरेको जानकारी दिनुभयो । राजदूतको साइकल यात्राले यस क्षेत्रको प्रचारप्रसारमा सकारात्मक भूमिका खेल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
पोखरा पर्यटकीय सहर भएकाले साइकल मैत्री सहर बनाउनुपर्छ भन्ने अवधारणा अघि सार्दै पोखराका विभिन्न २१ स्थानहरुमा साइकल स्ट्यान्ड राखेको छ । त्यसैगरी, बाढीपहिरा पीडितलाई सहयोग, वृक्षारोपण, रक्तदानलगायत सामाजिक एवम् वातावरण मैत्री कार्यक्रम पनि गर्दै आएको साइकल सिटीमा एक सयभन्दा बढी सदस्य रहेका छन् । साततालको फेरोको ७४ किलोमिटरको साइकल मार्गको प्राजेक्टका लागि पनि काम गर्ने तयारी भएको उहाँले जानकारी दिनुभयो ।