जनकपुर । जयनगर–कुर्था रेल मार्गमा नियमित रेल सेवा सञ्चालनका लागि नेपाल रेल्वे कम्पनी लिमिटेड उद्घाटनको पर्खाइमा छन् ।
रेल सेवाको नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गर्ने भएपछि नेपाल रेल्वे कम्पनी उद्घाटनको मिति कुरेर बसेका हुन् ।
भारतीय रेल्वे कम्पनी कोंकणले उद्घाटनका लागि २०२२ मार्च १ अर्थात फागुन १७ गतेको मिति प्रस्ताव गरेको र आफूहरुले सोही मितिलाई समर्थन गरेर भारतीय दूतावासलाई पठाइएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले जानकारी दिनुभयो ।
‘‘कोकण र हामीबीच सहमति भएरै उद्घाटनको मिति मार्च १ तय गरेर दूतावासमा पठाएका हौं”, उहाँले भन्नुभयो, ‘‘तर दूतावासले उद्घाटनको मितिको प्रस्ताव नेपाल सरकारबाट आउनुपर्ने बताइरहेका छन् ।” तर नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका कारण उद्घाटनको मिति तय गर्न ढिलाइ भइरहेको उहाँको कथन छ ।
‘‘उद्घाटनको ढिलाइका कारण मात्र रेल चलाउन समस्या भएको छ”, महाप्रबन्धक झाले भन्नुभयो, ‘‘नभए रेल चलाउन कुनै समस्या अब छैन्, हामीले सबै तयारी गरिसकेका छौं ।” उद्घाटन भए लगत्तैबाट नियमित रेल चलाउँछौं, अब ढिलाइ हुँदैन् उहाँको भनाइ थियो ।
रेल सेवा उद्घाटन नभएसम्म नियमित बिना यात्रु (ड्राई सेवा) भने गत फागुन १ गतेदेखि सञ्चालन हुँदै आएको छ । अहिले बिना यात्रु दैनिक जयनगरदेखि कुर्था र कुर्थाबाट पुनः जयनगर रेल सेवा सञ्चालन भइरहेको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ ।