काठमाडाैं । पशुपति क्षेत्रको धर्मशाला छिट्टै सरकारको स्वामित्वमा ल्याउने पर्यटनमन्त्री आलेको आश्वासन, महाशिवरात्रीको तयारीमा करिब १ करोड ५० लाख लाग्ने ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले बतास समूहले चलाइरहेको पशुपति क्षेत्रको धर्मशाला छिटोभन्दा छिटो सरकारको स्वामित्वमा ल्याउने बताउनुभएको छ । पशुपतिप्रति गिद्धे दृष्टि लगाउनेहरुको कहिल्यै कल्याण नहुने पनि मन्त्री आलेको भनाइ छ ।
मंगलवार महाशिवरात्री पर्व २०७८ मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै पर्यटन मन्त्री प्रेम आलेले बतास समूहलाई हटाउने सरकारको निर्णयमा सो समूहले लिएर आएको अल्पकालिन आदेश समेत अदालतले खारेज गरिसकेकाले छिटोभन्दा छिटो धर्मशाला फिर्ता ल्याइने बताउनुभएको छ ।
मन्त्री आलेले पशुपतिप्रति गिद्धे दृष्टि लगाउनेहरुको कहिल्यै कल्याण नहुने बताउनुभयो ।
पशुपति क्षेत्र विकास कोषको अध्यक्षसमेत रहनुभएका मन्त्री आलेले यस वर्षको महाशिवरात्री पर्व विगतका वर्षहरुभन्दा भव्य र सभ्य रुपमा मनाउने तयारी भइरहेको जानकारी दिनुभयो । महाशिवरात्री पर्वलाई भव्य र सभ्य बनाउन कुनैपनि कसर बाँकी नराख्न उहाँले निर्देशन समेत दिनुभयो ।
उक्त पर्वको तयारीमा करिव १ करोड ५० लाखको लागत लाग्ने भएको छ । धर्मावलम्बीहरुलाई सहज रुपमा पानीको व्यवस्था, बत्तीको व्यवस्था मिलाउनेदेखि सरसफाइमा विशेष ध्यान दिन मन्त्री आलेले निर्देशन दिनुभयो ।
यस वर्षको महाशिवरात्री पर्व फागुन १७ गते मंगलवारका दिन परेको छ । यस वर्ष सो दिन पशुपति क्षेत्रमा १० लाख दर्शनार्थी मेला भर्न तथा दर्शन गर्न आउने अनुमान गरिएको छ । पर्वलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री तथा कोषका अध्यक्ष प्रेमबहादुर आलेको अध्यक्षतामा मूल समारोह समिति र विभिन्न १० वटा उपसमिति गठन गरिएको हो ।
यस पशुपतिनाथ मन्दिर परिसरको पर्खालहरुमा शिवजिको सुन्दर चित्रकलाहरु पनि बनाइदै छ ।
सदस्य सचिव थापाले सो दिन पनि विद्युत शवदाह क्षेत्र र क्रियापुत्री क्षेत्र सञ्चालन हुने बताउनुभयो । महाशिवरात्री पर्वका दिन मदिरा तथा लागूपद्धार्थ मुक्त क्षेत्र बनाउनका लागि विशेष निगरानी र कडाइ गरिने पनि उहाँले बताउनुभयो।