क्षितिज बिश्वकर्मा ।
सर्लाही । लालबन्दी नगरपालिका १ स्थित नवलपुरमा खुलेका धेरै अस्पताल तथा औषधि पसलका सटर बिहीवार दिनभरजसो बन्द रहे । लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाले नगरभित्र सञ्चालित स्वास्थ्य संस्थाहरुको अनुगमन तथा जाँच गर्न थालेपछि अवैधानिक तवरबाट सञ्चालित प्रायः अस्पताल तथा औषधि पसल सञ्चालकहरुको भागाभाग भएको हो ।
गएको सोमवारदेखि नै नगरपालिकाले नगरभित्रका स्वास्थ्य संस्था तथा औषधि पसलहरुको अनुगमन शुरु गरेको हो ।
जिल्लाकै सबैभन्दा धेरै अस्पताल तथा औषधि पसल भएको नवलपुरमा केही बाहेक सबैजसो मापद्दण्ड विपरित बिना ईजाजत र दर्ता बिना नै सञ्चालनमा रहेको पाईएको लालबन्दी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत मुमताज मिक्रानीले जानकारी दिनुभयो ।
नवलपुरमा बिना दर्ता नै स्वास्थ्य संस्थाहरु च्याउसरी खुलेको भन्दै जनस्वास्थ्यको सवालमा जनगुनासोहरु धेरै हुन थालेपछि अनुगमन तथा जाँच गरिएको स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत मिक्रानीले बताउनुभयो ।
स्वास्थ्य संस्थाको अनुगमनमा स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत मिक्रानीसँगै प्रमुख प्रशासकिय अधिकृत वासुदेव तिमल्सिना, नगरका कर्मचारी, जनप्रतिनिधि लगाएतको टोली गएको थियो । सो क्षेत्रमा मापदण्ड विपरित र बिना दर्ता, ईजाजत नै अस्पताल तथा औषधि पसल सञ्चालन हुँदा आम नागरिकको स्वास्थ्यसँग नै खेलवाड भईरहेको भन्दै तिब्र रुपमा गुनासाहरु सुनिन थालेपछि नगरपालिकाले अनुगमनमा चासो दिएको हो ।
त्यहाँका अस्पतालहरुमा बिना ईजाजत नै गर्भपतन जस्ता अवैधानिक कृयाकलापहरु सञ्चालन हुने गरेको र सम्बन्धित निकाय मौन बसेको आरोप लाग्दै आएको छ । त्यहाँका गणपति अस्पताल, श्री राम औषधालय, संजय कुमार औषधालय, सत्यनाम हेल्थ केयर प्रालिलगाएतका अस्पताल तथा औषधालयहरु बिना मापदण्ड र ईजाजत बिना सञ्चालन गरेको पाईएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत मिक्रानीको भनाइ छ ।