जयनन्द लामालाई कलाकार मात्र भनिदिदा यो उनको पूर्ण परिचय हुँदैन । यो उनीप्रतिको अनादर समेत हुनपुग्छ । किनभने जयनन्द लामा त वहुमुखी प्रतिभाका धनी थिए । नेपाली मौलिक लोक संगीत क्षेत्रमा उनको जति योगदान छ, चलचित्र क्षेत्रमा पनि उत्ति नै धेरै योगदान छ । उनी कुशल अभिनेता मात्र होइन आफैं चलचित्र निर्देशक पनि थिए । पद्माकन्या र ललितकला क्याम्पसमा उनी संगीत विषय पढाउथे, त्यसैले धेरै विद्यार्थीका लागि उनी संगीतका गुरु थिए । यति बहुप्रतिभाशाली कलासाधक जयनन्द लामा अब रहेनन् । बुधवार विहान भक्तपुर दुवाकोटस्थित आफ्नै निवासमा उनको अप्रत्यासित निधन भयो ।
२०१२ सालमा सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मेका लामा गाउँकै स्कूल पढ्थे । बचेको समय खेतीपाती र वस्तुगोठालो गएर विताउथे । सानैदेखि रसिक स्वभावका उनी वनपाखा र मेलापात जाँदा पनि नाच्न र गाउन सधैं अघि सर्थे । उनी हुर्केको समाजमा बहुजातिको मिश्रण छ । गुरुङ मगरले रोदी घन्काउथे, राईले साकेला गाउँथे, खसआर्य दोहारी, रोइलामा रमाउथे । शेर्पाहरूको आफ्नै लय छ । तामाङ सेलो र खान्दोगे भाकाको त उनी पारंगत थिए । सानै उमेरदेखि गीत गाउन भनेपछि रत्तिन्थे उनी । बहुजातिको बसोबास भए पनि गाउँलेबीच एकता थियो । त्यो एकता मौलिक संस्कृतको जगेर्नाका लागि हुन्थ्यो ।
भैरवबहादुर थापा र रेडियो नेपाल
विक्रम सम्वत २०२६ सालतिर राजा महेन्द्रको जन्मोत्सवको अवसरमा देशभरमा प्रचलित भाकालाई समावेश गरेर काठमाडौंमा कार्यक्रम गरिन्थ्यो । कला र संगीतप्रेमी राजा महेन्द्रलाई रिझाउन विज्ञहरू तत्कालीन १४ अञ्चल ७५ जिल्लामा पुगेर लोकभाका खोजेर ल्याउँथे । एकदिन सिन्धुपाल्चोकस्थित आफ्नो गाउँमा लोकभाका खोज्न काठमाडौंबाट विज्ञहरू आउँदछैन् भन्ने खबर जयनन्दले आफू पढ्ने स्कूलमा थाहा पाए ।
नभन्दै मौलिक लोकभाका र लोकनाचको खोजीमा विज्ञहरु उनको गाउँमा पनि आइपुगे । जयनन्दले पनि आफ्ना प्रतिभा नाचेर र गाएर सुनाए । लोकभाका खोज्न पुगेका विज्ञमध्येका एक थिए संगीतकार भैरवबहादुर थापा । जयनन्दको प्रतिभाबाट थापा निकै प्रभावित भए । त्यहीबाट थापासँग जयनन्दको चिनजान भयो ।
समय बित्दै जाँदा जयनन्दले संगीतकार थापाको साथ र आशीर्वाद दुवै पाए । थापाको संरक्षणमा रहेर उनले स्कुल कलेज र विश्वविद्यालयसम्मको ज्ञान प्राप्त गरे । आफूले प्राप्त गरेको नाम, काम र दाम, सम्मान थापाकै देन मान्थे उनी । थापा जहाँ जान्थे त्यहीं पुग्थे जयनन्द र गीत गाउँथे । यसरी गीतसंगीततर्फ उनको यात्रा अगाडि बढेको थियो ।
संगीतकार थापाकै माध्यमबाट जयनन्दले सुरुमै रेडियो नेपालमा चारवटा गीत रेकर्ड गर्ने मौका पाए । ‘पानी परो बलेसी हेरन बैनी झलल’, ‘रोको मनलाई बुझाउने को छ र ?’, ‘पहिलो चरण कुन गीत गाउने’ र ‘सरस्वती मुखैमा नआउने ।’
चटपटे झिल्के स्वभाव र प्रतिभाशाली जयनन्द राजा महेन्द्र र वीरेन्द्रको नजरमा समेत परे । उनको व्यक्तित्वबाट प्रभावित भएर जयनन्दले पछि दरबारमै बसेर पढ्ने मौका पाए । त्यही क्रममा उनको भेट गोपाल योञ्जन जस्ता दिग्गज संगीतकर्मीहरुसँग भयो । उनीहरुको संगत र प्रेरणाले जयनन्द मौलिक लोक संगीत क्षेत्रमा अझ भिज्दै जान थाले । गाउँ गाउँ पुगेर उनले संकलन गरेर ल्याएका मौलिक लोक गीतहरुले रेडियो नेपालबाट बज्न थाले । कालान्तरमा नेपाली लोक गीत संगीतको क्षेत्रमा उनले बेग्लै र विशिष्ट पहिचान बनाए ।
स्टेज तताउने कुमार बस्नेत र जयनन्द
संगीत क्षेत्रलाई नै पेशा बनाएर जीविकोपार्जन गर्न सकिन्छ भन्ने आत्मविश्वास अहिले पनि अधिकांशसँग पाइदैन । तर त्यसबेला पनि संगीत कर्म र कलाकारिता गरेर नै जीविकोपार्जन गर्ने थोरै कलाकारमा जयनन्द पनि थिए । लोक गायनमा कुमार बस्नेत र जयनन्दको बढी नै माग थियो त्यसबेला । तर बस्नेत संचयकोषको जागीरे हाकिम थिए । त्यसैले उनले चाहेर पनि कार्यक्रमहरुका लागि समय निकाल्न सक्दैन थिए । त्यसको फाइदा जयनन्दलाई हुन्थ्यो । किनभने कुमारले नभ्याएका स्टेजमा जयनन्द पुग्थे । हुन पनि उनको छवि स्टेज तताउने गायक कलाकारको रुपममा बनिसकेको थियो । कतिसम्म भने उनको स्टेज शो हेर्न प्रज्ञा भवनमा बिहानैबाट टिकट काट्न जानेहरुले लाइन बस्नु पथ्र्याे । तर अहिले कला र कलाकारप्रतिको सम्मान कम हुदै गएको अनुभव सुनाउथे उनी । यसमा कलाकारहरुकै दोष देख्थे उनी । गीतका नाममा भित्रिएको विसंगति र प्रविधि र पैसाको बलमा कलाकार हुन खोज्नेहरुको कारण वास्तविक कलाकार समेत ओझेलमा पर्ने गरेकोमा दुखी थिए उनी । कलाकारलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहारबाट सन्तुष्ट थिएनन् जयनन्द । संगीतको कुनै जात र वर्ग हुँदैन भन्ने मान्यता राख्ने उनकै आँखा सामू कुनै आस्था र पार्टीको भक्तिगान गाएकै आधारमा रातारात ठूलो ओहोदा र मानपदवी पाएको साक्षी उनी आफैं थिए । पाँच दशक बढी नेपाली लोक संगीत र चलचित्र क्षेत्रमा बिताएका उनले राज्यको तर्फबाट उनकै भाषामा भन्दा कागजी प्रमाणपत्र समेत पाएनन्, अरु राष्ट्रिय मान र सम्मानको बाँडफाँडमा त उनको पालो कहिल्यै आएन ।
राज्यबाट जति नै उपेक्षित भए पनि लोकमा उनको विशिष्ट पहिचान र सम्मान थियो । त्यो सबै उनले आफ्नो कला,गला र पौरखले आर्जेको वैभव थियो ।
पहिलो क्यासेट चक्का र रोयल्टी
नेपालमा क्यासेट चक्काको नाममा गीति संग्राह निकाल्ने पहिलो भाग्यमानी कलाकार पनि जयनन्द नै थिए । भर्खरै खुलेको म्यूजिक नेपालले चालीसको दशकको शुरुमा जयनन्द लामाका लोक गीतहरु संग्रह क्यासेट एल्बममा निकालेको थियो । ‘जयनन्द लामा भाग्य’ बोलको क्यासेट चक्काबाट उनले प्रति क्यासेट बराबर ५० पैसा रोयल्टी पाउँथे । त्यसअघि नेपाली क्यासेट नै निस्केको थिएन । त्यसैले शुरुमा क्यासेट पसलहरुले उनको क्यासेट चक्का बेच्नै मानेका थिएनन् । तर विस्तारै उनको क्यासेट चक्का र त्यसमा संग्रहित गीतहरु लोकप्रिय बन्दै गए । त्यससँगै उनी पनि लोकका प्रिय बने ।
पहिलो क्यासेट चक्काको सफलतापछि दोश्रो भाग निकाल्न म्युजिक नेपालले उनीसामू प्रस्ताव राखे । त्यसबेला उनी महेन्द्र पूलिस क्लबको पूर्णकालीन जागिरे थिए । त्यसैले उक्त समय उनीसँग फुर्सद नै थिएन । दिनको सरकारी जागिर, बिहान बेलुका संगीत सिकाउने काम । तर म्यूजिक नेपालले उनलाई दोस्रो क्यासेटका लागि ५ हजार रुपैयाँको अफर गर्यो । त्यति पैसाले त्यसबेला काठमाडौंको प्राइम लोकेशनमा एक रोपनी जग्गा आउँथ्यो । म्यूजिक नेपालको आफ्नै लगानीमा ठूलो पारिश्रमिक मात्र होइन प्रति क्यासेट १ रुपैयाँ रोयल्टी समेत पाउने शर्तमा जयनन्दले म्यूजिक नेपालसँग तेस्रो भागसम्म क्यासेट चक्का निकाले । सबै क्यासेटमा समावेश गीत श्रोताले औधी रुचाए, क्यासेट हातहाती विक्री भए । त्यही लोकगीतबाट आजको जयनन्द लामाको पहिचान र सम्मान पाएको सगर्व सुनाउथे उनी ।
मण्डलेको आरोप र अमेरिकी ग्रीनकार्ड
दरबारसँग नजिक जयनन्द राजा वीरेन्द्रका छोरा दीपेन्द्र र छोरी श्रुतिका संगीत प्रशिक्षक समेत थिए । दरबारमै पुगेर संगीत सिकाउथे उनी । पछि उनी रेडियो नेपालमा पनि जागीरे भए । तर शाखा अधिकृतमा कार्यरत रहेकै अवस्थामा २०४६ सालको आन्दोलन भयो । दरबारसँग निकट रहेकोले उनीमाथि मण्डलेको आरोप लाग्यो । त्यसपछि उनी ३ महिनाको लागि भनेर अमेरिका भासिए । अमेरिकामै उनले ग्रीन कार्डको लागि फारम भरे । केहि समयपछि उनलाई कार्ड लिन बोलाए । तर अन्तर्वार्ताका क्रममा जब उनले थाहा पाए कि अमेरिकी ग्रीनकार्ड लिनलाई नेपाली नागरिकता त्याग्नुपर्छ, त्यसपछि उनले ‘नेपाली नागरिकता त्यागेर ग्रीन कार्ड लिन अस्वीकार गरे । उनको उक्त निर्णय सुनेपछि उनलाई सातदिन भित्र अमेरिका छोड्न भनियो र उनी नेपाल फर्किए । राष्ट्र र राष्ट्रियताको अघि कुनै सम्पत्ति र सुख सयलको कुनै मूल्य र अर्थ हुँदैन भन्ने जयनन्दको बुझाइ थियो ।
जिन्दगीले तेस्र्याएका हरेक अवसर र विकल्प त्यागेर जयनन्द लोक संगीतमै समर्पित भए । लोकगीतप्रति उनको बेग्लै मायामोह र विश्वास थियो । लोकगीतले लोकका कथा, रीतिरिवाज, धर्मकर्म, चाडपर्व र संस्कृतिलाई बोक्छ र बोक्नुपर्छ भन्ने मान्यता थियो उनको । लोक गीत कोठामा बसेर हार्मोनियमको सरगम चलाएर सिर्जना हुँदैन, यो त लोकको बीचमा पुगेर उनीहरुको अन्तर्मनबाट झिकेर र खोजेर ल्याउनुपर्छ भन्थे उनी ।
त्यसैले लोकगीतका नाममा अहिले बज्ने गीतहरुप्रति उनको सधैं गुनासो रहन्थ्यो । गाउँमा सुनिने लोकभाकाको मिठास अहिलेका गीतमा नपाइने उनको ठोकुवा थियो । लोकगीतका नाममा छाडा गीतको बिगबिगीले मौलिक नेपाली लोकगीत ओझेलमा परेकोमा पीडाले उनको छाति पोल्थ्यो । त्यो भन्दा उनको ठूलो चिन्ता थियो–अबका नयाँ पुस्ताले कतै मौलिक नेपाली लोकगीतको परिभाषा नै फेरिदिने हुन् कि भनेर ।
त्यो चिन्ता स्वभाविक पनि थियो । किनभने यही लोकगीत संगीतको अध्ययन, अनुसन्धानमा उनले आफ्नो जवानी नै बिताएका थिए । यही मौलिक लोकगीतका भाका संकलन गर्न उनी गाउँ–गाउँका कुनाकन्दरामा पुगेका थिए । तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान (नेराप्रप्र) मा संलग्न भएर समेत उनले लोकगीतको अनुसन्धान र संरक्षणमा लामो समय बिताएका थिए ।
जयनन्द लोक गायक र संगीतकारका अलावा उम्दा कलाकार, फिल्म निर्माता, निर्देशक र लेखक पनि थिए । संगीतका केही पुस्तकका लेखक रहेका उनले एक सय बढी चलचित्रहरुमा अभिनय गरेका छन् । २०३० सालमा ‘मनको बाँध’ चलचित्रबाट पहिलोपटक अभिनय सुरु गरेका उनको अन्तिम चलचित्र भने सम्भवतः रामबाबु गुरुङको कबड्डी ४ रहेको छ । यस चलचित्रको केही समय अघि मात्र छायांकन सकिएको छ ।
उनका ‘कलकत्ते काइँयो केश मेरो बांगो, टेबलमा ऐना छ’, चट्ट परेको चुल्ठी, हेर्दैमा राम्रो, चुइँ चुइँ चुइँकने जुत्ता, नाच्यो झिल्के नाच्यो, मूलाको चाना, आज मेरो जोगीको ताल पर्यो लगायतका गीत चर्चाको शिखरमा छन् ।
र, फेरि पनि मौलिक लोक गीत
जीवनको उत्तरार्धमा पनि लोकगीत संगीतकै सेवामा समर्पित थिए जयनन्द । उमेरले ७ दशक टेक्नै लाग्दा समेत उत्तिकै फुर्तिला र सक्रिय थिए उनी । अफर आएका चलचित्र र टेलिचलचित्रमा सम्भव भएसम्म सबैलाई निराश पर्दैन थिए उनी । आफैं चलचित्र निर्माण र निर्देशन गरेर ठूलै आर्थिक क्षति खेपेका उनी निर्माता, निर्देशकका पीडालाई आफ्नै ठान्थे । मृत्युभन्दा केही मिनेट अघिसम्म पनि उनी शुटिङकै छलफलमा थिए ।
सधैं ख्यालठट्टा र हाँसीमजाक गरिरहनुपर्ने स्वभावका जयनन्दमा वातावरण अनुकूल आफूलाई रुपान्तरण गर्नसक्ने खूबी थियो । प्राज्ञिक वहसमा उनी त्यही स्तरको वहस र छलफल गर्थे भने हाँसीमजाकमा त उनलाई कसले भेट्टाउन सक्नु ।
लेखकसँग गत दशैंपछिको एक बसाइँमा जयनन्दको एउटा सदीच्छा थियो–मैले संकलन गरेका मौलिक लोकगीत र भाकाहरु अझै बाँकी छन् । अब त्यसलाई एक एक गरेर क्रमशः सार्वजनिक गर्दै जान्छु ।
नभन्दै मृत्यु भन्दा २ हप्ता अघि मात्र उनले सिन्धुपाल्चोक भेगमा प्रसिद्ध मौलिक भाकाको एउटा गीत म्यूजिक भिडियोसहित सार्वजनिक गरेः
फूल फुलेर झर्नेछ
दुई दिन बाँची मर्नेछ
छैन जुनीको भरोसा
मरेर जाने यो चोला
कहाँ गइ होला मरण
गरेर राखौं रामरस ।
तिम्रो अर्को जुनीमा वृन्दाबनमा आएर
फुलको जन्म लिएर फुलिबस्नु, पर्खनु
हामी दुईमा जो मर्ला मनमा दुख नमान्नु ।
उनको यो गीतका शब्द र भावहरु हेर्दा उनमा आफ्नो मृत्युबोध भैसकेको पो थियो कि भन्ने लाग्छ । संयोग नै भए पनि उनले आफ्नो अन्तिम गीतमा अर्को जुनी एउटा पवित्र र सुन्दर वगैंचाको फूलको रुपमा लिने सदिच्छा व्यक्त गरेका छन् ।
अन्त्यमा, जयनन्द जन्मेको र उनले बाँचेको समुदायले मान्ने बौद्ध परम्परामा महान आत्माहरुले फेरि अवतारीका रुपमा पुनर्जन्म लिनसक्ने विश्वास र आस्था राख्छन् । यदि त्यसो हुँदो हो भने जयनन्दको महान आत्मले पनि यस्तै चमात्कार गर्न सकोस् । तर अहिलेलाई अलविदा जयनन्द ज्योज्यो ।