काठमाडाैं । रुसका लागि पूर्व नेपाली राजदूत एवं पूर्व सांसद हिरण्यलाल श्रेष्ठले एमसीसी सम्झौता पास भए शेरबहादुर देउवा प्रधानमन्त्रीबाट हट्नुपर्ने अवस्था आउन सक्ने बताउनुभएको छ । गठबन्धन टुटाएर एमालेसँग मिलेर एमसीसी सम्झौता पास गर्ने हो भने संसदमा ठूलो दलको हैसियतमा प्रधानमन्त्री पदमा ओलीको पुनरावृत्ति हुन सक्ने सम्भावना रहने श्रेष्ठले बताउनुभएको हाे।
जनता टेलिभिजनको कार्यक्रम विशेष समयमा वरिष्ठ पत्रकार टंक पन्तसँग कुराकानी गर्दै श्रेष्ठले दुई प्रकारका अतिवादले एमसीसीलाई गिजोलेको बताउनुभएको छ । पास गर्ने देशले संशाेधन गर्नुपर्ने लगायतका विषयमा छलफल र निर्णयको अधिकार राख्ने भएपनि अमेरिकाले जस्ताको तस्तै पास गनुपर्नेमा निर्णय लिन धम्कीपूर्ण दबाब दिनु पहिलो अतिवाद भएको उल्लेख गर्नुभएको छ।
त्यस्तै, उहाँले अमेरिकी सहयोग लिन नै नहुने अर्को अतिवादी टिप्पणी गरिने गरेको बताउनुभएको छ। सन्धि ऐन अनुसार संसदीय अनुमोदन गर्नु नै विषयले संसदमा प्रवेश पाएको उहाँको तर्क छ । अहिले अन्तर्राष्ट्रिय सम्बन्धमा पुनः शित युद्धले प्रवेश पाएको बताउँदै अमेरिकाको चीन घेर्ने रणनीति अनुरुप नै एमसीसी आएको बताउनुभएको छ।
चीनको ओलम्पिकलाई कुटनीतिक बहिष्कार गरेको अमेरिकाको प्रष्टोक्ति यसैको झिल्को भएको उहाँले इंगित गर्नुभएको छ । नेपालले भारतमा राजदूत नियुक्त गरिसक्दा पनि चीनमा नगर्नुले नेपालको असन्तुलित परराष्ट्र नीतिलाई इंगित गरेको बुझ्न सकिन्छ । उहाँले अहिले एमसीसी सम्झौतालाई व्याख्यात्मक प्रस्ताव ल्याएर केही सांसदलाई तटस्थ बस्न प्रेरित गर्ने चाल चल्न खोजिएको बताउँदै महाकाली सन्धिमा समेत यसैगरी ल्याइएको प्रस्ताव द्धिपक्षीय सम्झौताको अंग नभएको देखाउदैँ भारतले नमानेको दृष्टान्त उल्लेख गर्नुभएको छ।
खुल्ला विश्व र खुल्ला अर्थ व्यवस्था प्रस्तावनामा नै भएको एमसीसी सम्झौता संविधानको समाजवाद उन्मुख अर्थव्यवस्था अनुकुल हो वा होइन स्पष्ट हुनुपर्ने उहाँको जिकिर छ । आरटिओ एग्रिमेन्ट हुदाँका बखत समेत यस्तै विवाद आएकाले त्यो फिर्ता भएको दृष्टान्त बताउदैँ उहाँले विश्व बैंकको लागतमा नेपालको प्रसारण लाइन सम्बन्धी गरिएको अध्ययनले छनोटमा नराखेको योजनामा नै अनुदान खर्च हुनुमा रणनीतिक लाभको लेखाजोखा गर्नुपर्ने बताउनुभयो।
एमसीसी सम्झौता अनुदान गरेर जाने हो भने प्रधानमन्त्री शेरबहादुर देउवामाथि प्रतिगमनलाई साथ दिएको एउटा कलंक र राष्ट्रघात गरेको दुई कलंक लाग्ने बताउनुभएको छ । सडकमा देखिएको प्रदर्शन स्थानीय निर्वाचनमा एमसीसी पक्षधरलाई बहिष्करणमा पार्न तल्लिन हुने परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले टिप्पणी गर्नुभएको छ।
यदि नेपालले सही निर्णय लिन नसके युक्रेनकाे नियति भोग्नुपर्ने समेत उहाँले बताउनुभएको छ । युक्रेन छिमेकीलाई चिढ्याएर नाटो गठबन्धनमा संलग्न हुने निर्णय गरेकाले आक्रमण खेप्नु परेको उहाँले बताउनुभएको छ । कुनै गठबन्धनसँग पनि आवद्ध नभइ तटस्थ मात्र बसेको मात्र भएपनि युक्रेन यस्तो नियति खेप्नु नपर्ने उल्लेख गर्दै युक्रेन रुसको आक्रमण सामना गर्दा अमेरिकाको सहयोग नपाएको विषय एमसीसीवादीहरुले बुझ्न जरुरी भएको उहाँको आग्रह छ।