काठमाडाैं । नागारिकले हात्तीपाइलेविरुद्धको आम औषधि सेवनमा बेवास्ता गर्दा बागलुङमा १३ वर्षको प्रयासले समेत हात्तीपाइले निवारण हुन सकेको छैन ।
लगातार ६ वर्षसम्म औषधि सेवनबाट निवारण हुने हात्तीपाइले रोगका लागि नागरिक जिम्मेवार नबन्दा १३ वर्षमा समेत निवारण भएको छैन । यस रोगबाट बच्न लगातार ६ पटक हात्तीपाइले रोगविरुद्धको औषधि खानुपर्छ तर बागलुङमा आम औषधि सेवनमा नागरिक जिम्मेवारी नबन्दा समस्या भएको छ ।
लगातार ६ पटक औषधि खाएमा मात्र रोगको जोखिमबाट बच्न सकिने भए पनि बागलुङमा पुन १३औँ पटक यही फागुन २८ गतेबाट आम औषधि सेवन अभियान सुरु गरिने भएको छ । १३औँ पटकको आम हात्तीपाइले अभियान सुरु गर्नुभन्दा पहिला नारायण स्थानमा आठ जना र कुश्मिसेरामा दुई जनामा हात्तीपाइलेको सङ्क्रमण देखिएका कारण पुन १३औँ पटकको आम औषधि अभियान सुरु गर्न थालिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले जानकारी दिनुभयो ।
“नेपालभर निवारणको चरणमा रहेको हात्तीपाइले बागलुङसहित जम्मा १० जिल्लामा मात्रै निवारण हुन बाँकी रहेको छ, सुरुको चरणमा स्वास्थ्य स्वयमंसेविकाको निगरानीमा खुवाइएको थियो । पछि निवारण नभएको भन्दै स्वास्थ्यकर्मीको निगरानीमा खुवाइयो” गुरौंले भन्नुभयो, “सबैको प्रयासलेनै बागलुङमा हात्तीपाइले निवारण गर्न सकिन्छ, नागरिकले औषधि नखाने समस्या छ, सहरिया र शिक्षित व्यक्तिबाटै बेवास्था भएको छ, अब एक पटक सबैले आमऔषधि सेवनमा भाग लिऔं, हात्तीपाइले निवारण गरौँ ।”
बागलुङ नगरपालिका–१४ नारायणस्थान र जैमिनी नगरपालिका–१ कुश्सिेरामा हात्तीपाइले निवारण गर्न नसक्दा सिङ्गो जिल्लामा औषधि खुवाउनुपर्ने अवस्था रहिआएको छ । सङ्क्रमण दुई प्रतिशत प्रतिशत भन्दा कम भएमा जनस्वास्थ्य समस्याका रुपमा नलिने र निवारणको मान्यता दिने प्रचलन रहेकामा त्यो हुन नसकेकाले बागलुङमा १३औँ पटक हात्तीपाइले अभियान सञ्चालन गर्नुपर्ने अवस्था आएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले बताउनुभयो ।