झापा । पछिल्लो समय नेपालमा कृषि पेशा आधुनिक तवरले गर्न थालिएको छ ।
यो पेशाअहिले दर्ता गरेर उद्योगको रूपमा अघि बढिरहेको छ । विगतमा देशमा रोजगारी नभएर विदेशिएका युवा स्वदेश फर्केर कृषि पेशा अँगालिरहेका छन् । कृषि पेशालाई व्यवसायिक रूपमा अघि बढ्न थालेपछि कृषक र त्यहाँ कार्यरत मजदुर खुशी छन् ।
झापाको ग्रामीण क्षेत्रमा समेत कृषि उद्योगहरू धमाधम सञ्चालनमा आउन थालेका छन् । सरकारले दिने अनुदान र कोरोना कहरले गर्दा गाउँघरमै केही गर्न चाहने युवाहरूले खोलेको फार्मले वार्षिक पाँच हजार बढीलाई रोजगारीसमेत दिइरहेका छन् ।
घरेलु तथा साना उद्योग कार्यालय झापाको तथ्यांकअनुसार कोरोनाकालमा सबैभन्दा धेरै कृषिजन्य उद्योग दर्ता भएको उनले बताए । गत आर्थिक वर्षमा तीन हजार ११० उद्योग दर्ता हुँदा एक हजार आठ सय ४९ कृषि उद्योग दर्ता भएको छ । चालू आर्थिक वर्षको पछिल्लो ६ महिनामा मात्र १३ सय ९६ उद्योग हुँदा ८७२ कृषि उद्योग दर्ता घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।
कृषि क्षेत्रमा दैनिक तीन सय बढीले प्रत्यक्ष रूपमा रोजगारी पाइरहेको कृषि ज्ञानकेन्द्र झापाका प्रमुख नीलकमल सिंहले बताउनुभयो । ‘प्रत्यक्ष रूपमा दैनिक करिब तीन सयले रोजगारी पाएको उहाँले बताउनुभयो । अप्रत्यक्ष रूपमा कृषिबाट रोजगारी पाउने पनि धेरै रहेको उहाँको भनाइ छ ।
पछिल्लो समय कृषिलाई उद्योगको रूपमा विकास गरेर काम गर्नेको संख्या बढेको उहाँ बताउनुहुन्छ । ‘अहिले त व्यावसायिक खेती गर्ने धेरै छन् । जसमा युवाहरू धेरै देखिन्छ । सरकारले कृषिमा अनुदानका कार्यक्रम सञ्चालन गरिरहेको छ,’ उहाँ थप्नुहुन्छ, ‘विदेश बसेर दुःख पाएर देशमै केही गरौँ भनेर नेपाल आएकाले पनि कृषि पेशालाई व्यावसायीकरण गरेका छन् । अर्को कुरा विदेशमा बसेर केही कमाएका हुन्छन् । जसले आफ्नै लगानीमा पेशा गर्न पनि पाएका छन् । कृषि पेशा अरूको भन्दा सजिलो र सहज छ । विदेशमा गएका युवाले त्यहाँ पनि कृषिमै काम गरेका भएर पनि नेपाल आएर यही पेशा गर्नेको संख्या बढी छ ।’
तीन वर्षदेखि कोरोनाको प्रभाव खेप्दै आएका वैदेशिक रोजगारमा जाने युवाहरूले पछिल्लो समय स्वदेशमै उद्योगधन्दा सञ्चालन गर्न थालेका छन् । जसले गर्दा स्थानीयस्तरमै रोजगारसँगै आम्दानी समेत गर्न थालेको व्यावसायिक केरा उत्पादक किसान चन्द्र बस्नेत बताउनुहुन्छ । ‘इजरायलमा सिकेको सीपमार्फत आफ्नै देशमा व्यावसायिक केरा खेती गर्दै आएको छु । कृषिमा व्यावसायीकरण गर्नसक्यो भने राम्रो हुन्छ,’ उहाँको भनाइ छ ।
ज्ञानकेन्द्र प्रमुख सिंहका अनुसार झापामा तरकारी, केरा, नर्सरी, च्याउलगायतका व्यावसायिक हुँदै आएका छन् । कृषि उद्योग सञ्चालन गर्दैगर्दा कृषि मजदुरको अभाव भइरहेको गौरादहका च्याउ उत्पादनक कृषक नलबहादुर खड्का बताउँनुहुन्छ । कृषि क्षेत्रमा पनि पैसा राम्रो भए पनि मानिसहरू काम खोज्दै विदेश जाने गरेको उहाँलाई चित्त बुझेको छैन ।