काठमाडौं । सत्ता गठबन्धनको बैठक बालुवाटारमा बस्दैछ ।
संसदबाट एमसीसी अनुमोदनको चार दिनमा एमसीसी बोर्डबाट स्वीकृत भएको दोस्रो दिन गठबन्धनको बैठक बस्न लागेको हो ।
बैठकमा एमसिसी पारित भएको अवस्था, वैशाखमा हुने स्थानीय तह निर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफलमा हुने बताइएको छ ।
बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपाका शीर्ष नेता सहभागी छन्। राष्ट्रिय जनमोर्चाले भने एमसीसीप्रति असहमति जनाउदै गठबन्धन छाडेको छ ।
बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई सहभागी हुनुहुन्छ ।
यस्तै नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, माओवादी नेता नारायणकाजी श्रेष्ठ, देव गुरूङ पनि बैठकमा सहभागी रहेको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ।
बुधबार प्रधानमन्त्री देउवाले सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष दाहाल र एकीकृत समाजवादी अध्यक्ष नेपालसँग छुट्टाछुट्टै छलफल गर्नुभएको थियो ।