काठमाडौं । वैदेशिक रोजगारीको युग शुरु भएको अढाई दशकमा ४९ लाख ९४ हजार अर्थात, आधा करोड युवाले पराया भूमिमा श्रम बेचिसकेका छन् । यो आँकडा सरकारी निकायकै हो । छाक टार्नकै लागि आधा करोड युवा वैधानिक रुपमा सरकारसँग स्वीकृति लिएरै विदेशी भूमिमा सस्तोमा श्रम बेच्नका लागि पुगे । कति युवा अवैधानिक रुपमा विदेशीएका छन् यसको लेखा जोखा नै छैन सरकार संग । अझ बिदेसिएका मध्ये कति फर्किए भन्ने पनि जानकारीमा छैन ।
नेपाली युवाको लागि विदेशीनु रहर हैन बाध्यता हो । स्वदेशमा रोजगार छैन् । घरको अवस्था दयनीय छ । विहान वेलुकाको हातमुख जोर्न पनि सबै नेपालीको हैसियत छैन् । वरपर मजदुरी गर्दा दिनभरीको पाँचदेखि आठ सय आउँछ । त्यो पनि एकमुष्ट मिल्दैन । ठेकेदारबाट सय पचासका दरले आउने मजदुरीको पैसा आफ्नै खानपिनमा सकिन्छ । अनि घरपरिवारको जोहो के ले गर्ने ? स्वदेशमै मजदुरी गर्ने हरेकको पिडा हो यो । बरु, विदेशमा त बस्न खान व्यवस्था हुन्छ । एकमुस्ट पैसा आउँछ । अनि विदेश नगएर कहाँ जाने ?
मोरङ बेलवारीका दिपक गिरी जम्मा १९ वर्ष पुगे । जेनतेन कक्षा १२ उत्तिर्ण गरेका गिरीको घर परिवारको अवस्था दयनिय छ । उनलाई अझ धेरै पढ्ने र स्वदेशमै केही गर्ने रहर नभएको त कहाँ होर ? तर उनका इच्छाहरु पुरा गर्दै हिडेका उनका बुवा नै थला परेपछि पढाइ मात्रै अधुरो रहेन उनले रोजगारीका लागि भैतारिनु प¥यो । आफ्नो गाउँठाउँमै रोजगारी नपाएपछि विदेशीने अन्तिम चाहना बनाएर उनि चार महिनादेखि राजधानीका म्यानपावर कम्पनीहरु धाइरहेका छन् ।
कुन म्यानपावर गएनन् होला । विदेश पठाइदिन्छु भन्ने कसलाई भेटेनन् होला । तर, कहिले अन्तरवार्तामा फालिने त कहिले छनोट नै नहुने । अहिले पनि काठमाडौंको कोशी इन्टरनेश्नलमा धाइरहेका दिपक गिरी गहभरी आँसु पार्दै भन्छन् मलाई स्वदेमै रोजगारी मिले त विदेश किन जान्थे र ?
दिपक गिरी त प्रतिनीति पात्र मात्रै हुन् । उनि जस्ता हजारौं युवाको बाध्यता बनेको छ वैदशिक रोजगार । हातमा डिग्री को सर्टिफिकेट बोकेर हजारौं बेरोजगार युवा विदेशिन्छन् । अधिकांश युवा सस्तो श्रम बजार मानिने मलेसियासहित खाडी मुलुक भासिन बाध्य छन् । आफ्नो श्रमको अवमूल्यन भएको थाहा हुँदा हुँदै पनि ऋण गरेर विदेश पुगेका युवा ‘परिरिस्थतिको बन्दी’ बनेर बसेका छन् ।
हरेक राजनतिक दलहरुले आफ्नो एजेन्डा आर्थिक समृद्धि भएको बताइरहेका छन् । तर, मासिक १५ हजार रुपैयाँ कमाउन विदेश नै जानुपर्ने स्थितिको अन्त्य गर्ने स्पष्ट योजना छैन उनीहरुसँग । विदेश जाने युवालाई रोक्ने गरी सरकारले कुनै नीति लिएको छैन् । र, मासिक १५ देखि २० हजार रुपैयाँ कमाइ हुने खाडी मुलुकको विकल्प पनि दिन सकेको छैन् ।
भिडियो हेर्नुहोस्ःhttps://www.youtube.com/watch?v=4eamFKReOv4&t=97s