काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सरेको छ ।
आज ११ बजे सुरु हुने भनिएको बैठक १ बजेका लागि सरेको पार्टीका एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् ।
एमसीसीले उत्पन्न तीव्र विरोधका बीच माओवादीको बैठक बस्न लागेको हो । बैठक राष्ट्रिय सभागृहमा बस्दैछ ।
व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्ने पार्टीको निर्णयमा नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल लगायतको फरक मत छ । केन्द्रीय समिति बैठकमा एमसीसीको विषय लिखित रुपमै राख्ने उनीहरुको तयारी छ । तर माओवादीको केन्द्रीय कमिटी बैठक मुख्य प्रयोजन पदाधिकारी तय रहेको बुझिएको छ ।
११ देखि १८ पुसमा सम्पन्न माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनले पदाधिकारी चयनको अधिकार केन्द्रीय कमिटीलाई दिएको थियो । माओवादीले २४७ सदस्यीय केन्द्रीय कमिटी चयन गरिसकेको छ । अब केन्द्रीय कमिटी बैठकले वर्तमान राजनीतिक घटनाक्रमबारे समीक्षा गर्दै पदाधिकारी चयनबारे छलफल गर्ने नेता गणेश साहले जानकारी दिनुभयो । ।
माओवादीमा स्थायी कमिटी, पोलिटब्युरो, नेताको जिम्मेवारी बाँडफाँट, केन्द्रीय कमिटीलाई पूर्णता दिन बाँकी नै छ ।