सुखिलाल चौधरी
उदयपुर। उदयपुरमा बिहीवार राति गर्भवती महिलाको मृत्यु भएपछि जिल्ला अस्पताल गाईघाट तनावग्रस्त भएको छ । उदयपुरगढी गाउँपालिका ६ नेपालटारकी ३२ वर्षीया सीता राउत कार्कीको मृत्यु भएको हो ।
चिकित्सकको लापरबाहीले गर्भवती महिलाको मृत्यु भएको भन्दै चिकित्सकलाई कारबाहीको माग गर्दै बिहानैदेखि पीडित पक्षले अस्पताल घेराउ गरेका थिए ।
अस्पताल घेराउ गर्दा इमरेजेन्सी, ओपिडी सेवा पूर्ण रुपमा ठप्प भएको छ । अस्पताल तनावग्रस्त भएपछि अस्पताल प्रशासक र पीडित पक्षबीच वार्ता भएको थियो । तर, वार्ता सफल नभएपछि आन्दोलनरत पक्षले अस्पतालको बैठक कक्ष तोडफोड थिए ।
पीडित पक्षले उचित क्षतिपूर्ति र चिकित्सकलाई कारबाही गर्नु पर्ने भन्दै जिल्ला अस्पतालका अध्यक्ष तथा जिल्ला समन्वय समितिको अध्यक्ष खड्गबहादुर परियारको कार्यकक्षमा तोडफोड गर्न पुगेका थिए ।
यस्तै, दोस्रो चरणमा जिल्ला प्रशासन कार्यालयको समन्वयमा पीडित पक्षसँग वार्ता गरेपछि वार्ता विना निस्कर्ष टुगिंएको पीडित पक्षले जनाएको छ ।
फागुन १७ गते नै सुत्केरी गराउन जिल्ला अस्पताल गाईघाट ल्याएकी महिलाको उपचार नपाएरै मृत्यु भएको श्रीमान अर्जुन कार्कीले आरोप लगाएका छन् । जिल्ला अस्पतालका डाक्टरहरुले १७ गतेदेखि नै नर्मल डेलीभरी हुन्छ भन्दाभन्दै राखेकोमा अन्ततः बिहीवार राति श्रीमतीको उपचार नै नपाएर मृत्यु भएको श्रीमान कार्कीको आरोप रहेको छ।
“यही नर्मल सुत्केरी हुन्छ किन बाहिर लैजान्छौ भन्दा भन्दै गर्भवतीको मृत्यु हुन गयो । डाक्टरहरु हामीमाथि नै झर्कने, रिसाउने गरेको थियो ।” पीडितका नन्द सावित्रा कार्कीले भनिन्, “अपरेशन गरेर भएपनि बच्चा निकालि दिन भन्दा पनि अस्पतालको कोही कर्मचारी तथा डाक्टरहरुले एकले अर्कोलाई देखाउने गर्ने क्रममा उपचार नै नपाएर मेरो भाउजूको मृत्यु भयो ।”
हाल जिल्ला अस्पतालमा दुई जना प्रसुति गराउने डाक्टर भएपनि त्यस दिन एक जना पनि डाक्टर उपस्थित थिएनन् । यस विषयमा अस्पतालका प्रमुख डा. मुकेश झासँग सम्पर्क गर्न खोज्दा मेडियामा आउन चाहानु भएन । सँधै विशेषज्ञ डाक्टरहरुको अभाव झेल्दै आएको उदयपुर अस्पतालमा केही विशेषज्ञ सेवा सुरुवात हुनै लाग्दा यस घटनाले अस्पतालको सेवा पुनः पुरानै स्थितिमा पुग्ने भय देखिएकाे छ ।