धनुषा । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल नगराईन नगरपालिकाले दुर्गानन्द झा स्मृति अस्पतालको काम सुचारुका लागि मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापन पत्र बुझाएको छ । धनुषाको जटहीमा शहीद दुर्गानन्द झाको नाममा निर्माणाधीन बाल अस्पतालको काम अविलम्ब सुचारु गर्नुपर्ने माग गर्दै मुख्य मन्त्री राउतलाई ध्यानाकर्षण गराइएको हो ।
आर्थिक वर्ष २०७७/७८ मा शहीद दुर्गानन्द झा स्मृति अस्पतालको निर्माण कार्यको ६० प्रतिशत काम गरिएको र त्यसपछि काम ठप्प भएकाले मुख्यमन्त्री राउतलाई ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराइएको छ । लोसपाको नगराइन नगरपालिकाका अध्यक्ष नवलकिशोर झा नेतृत्वको टोलीले राउतलाई ज्ञापन पत्र बुझाएको छ ।
सामाजिक विकास मन्त्रालयले अस्पातलको आकस्मिक कक्ष तथा ल्याव ब्लक निर्माणका लागि १ करोड ७० लाख १६ हजार ७४६ रुपैयाँको अनुमानित लागतसहित बोलपत्र समेत आह्वान गरेको थियो । सोही बोलपत्रको आधारमा लागेको ठेक्का मार्फत ६० प्रतिशत काम सम्पन्न भइसकेको ज्ञापन पत्रमा उल्लेख छ ।
आर्थिक वर्ष २०७८/०७९को प्रदेशको नीति तथा कार्यक्रममा अस्पताललाई ५० शैय्याको बाल अस्पतालको रुपमा विकास गर्ने उल्लेख रहेपनि त्यस अनुरुप बोलपत्र आह्वानको प्रक्रियासम्म शुरु हुन नसकेकोमा स्थानीय आक्रोशित भएको लोसपाका केन्द्रीय सदस्य राजीब झाले बताउनुभयाे । अस्पतालको बाँकी निर्माण कार्य अविलम्ब शुरु नगरिए त्यहाँका स्थानीय आन्दोलित हुन सक्ने चेतावनी समेत ज्ञापन पत्रमार्फत दिइएको छ ।
ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री राउतले सो अस्पताल निर्माण कार्य पूरा गर्ने अभिभारा प्रदेश सरकारको रहेको र यसमा प्रदेश सरकार चुकेको स्वीकार गर्नुभयाे । उहाँले अस्पतालको निर्माण कार्य चाँडै सुरु गरिने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयाे ।मुख्यमन्त्री राउतले सम्वन्धित मन्त्रीलाई निमार्ण कार्य यथासिघ्र संचालन गर्नका लागि निर्देशन दिँदै तीन दिन भित्र कति काम अगाडी बढेकाे छ त्यसबारेमा जानकारी दिन समेत लोसपाका नेताहरुलाई आग्रह गर्नुभएकाे छ ।
मुख्यमन्त्री राउतलाई ज्ञापन पत्र बुझाउन लोसपा नगराइनको नगर अध्यक्ष झासहित लोसपाका प्रदेशसभा सदस्य परमेश्वर साह, लोसपा नेता राजीव झा, राजु चौधरी, दिपक झा, रोहित चौधरी, लगायतका नेता कार्यकर्ताहरु पुग्नुभएकाे थियाे ।