बिष्णु खड्का
सोलुखुम्बु । जिल्लाको लिखुपिके गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गरिएको छ । जिल्ला विकास समितस इकाई सोलुखुम्बुका प्रमुख खगेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यता तथा लिखुपिके गाउँपालिका अध्यक्ष डम्बरबहादुर बस्नेतको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
साक्षर गाउँपालिका घोषणा गर्ने लिखुपिके गाउँपालिका छैटौँ जिल्लाको गाउँपालिका बन्न पुगेको हो । गाउँ कार्यपालिकाको बैठकले नेपाल सरकारले तोकेको मापदण्ड पूरा भएका कारण गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।
नेपाल सरकारको साक्षर गाउँपालिका, नगरपालिका तथा जिल्लाको घोषणाका लागि तयार गरिएको अनौपचारिक शिक्षा तथा साक्षरता कार्यक्रम कार्यान्वयन सहजीकरण अन्तर्गत २०७६/०७७ मा संकलन गरेको सक्षरता तथ्यांक अनुसार मध्ये ९५.९ प्रतिशत साक्षर रहेको गाउँपालिका उपाध्यक्ष प्रमिला बस्नेतले बताउनुभयो ।
गाउँपालिकाको सभाहलमा आयोजित सो कार्यक्रममा जिल्ला विकास समिति इकाई सोलुखुम्बुका प्रमुख खगेन्द्र श्रेष्ठले गाउँपालिका साक्षर घोषणा घोषणामा मात्र सिमित नहोस् भन्दै आगामी दिनमा पनि साक्षरताको निम्ति सबै लाग्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा ४ वट वडाका वडा अध्यक्ष, विभिन्न वडाका वडा सदस्यहरू, शिक्षा प्रमुख, सुरक्षाकर्मी, पत्रकार, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू तथा शिक्षकलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा गाउँपालिकामा उपस्थित वडा अध्यक्षलगायत सरोकारवाला वक्ताहरुले शिक्षा क्षेत्रको विकासका लागि स्थानीय जनप्रतिनिधि र नागरिक सचेत भएर लाग्नु पर्नेमा जोड दिनुभएकाे थियाे ।