काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश भित्र र बाहिरका प्रतिक्रियावादी शक्तिहरु मिलेर आफू नेतृत्वको सरकारलाई हटाएको बताउनुभएको छ ।
अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकार ढलाउन संसार भरका स्यालहरु एक भएको भन्दै उनीहरुविरुद्ध प्रतिवाद गरेर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।
पार्टी निकट मानव अधिकारवादीहरुको संगठन मानव अधिकार एलाईन्सको पाँचौ राष्ट्रिय महाधिवेशनलाई सोमबार पोखरामा उद्घाटन गर्दै उहाँले एमाले नेतृत्वको सरकारले राम्रो काम गर्दागर्दै प्रतिक्रियावादीहरु मिलेर ढालिदिएको बताउनुभयो ।
अध्यक्ष ओलीले एक हुल स्यालको प्रसंग निकाल्दै भन्नुभयो, ‘स्यालको यस्तो धर्म हुन्छ, एउटा स्याल कराएपछि त्यो सुनेपछि सबैले ठाडो घाँटी लगाएर ‘हुहु’ गर्नुपर्छ नत्र टाउको फुटेर मर्छ । त्यसकारण दुनियाँभरीका स्यालहरु हाम्राविरुद्ध ठाडो घाँटी लगाएर हुहु गरे । त्यसको बैचारिक र ब्यवहारिक ढंगले जवाफ दिनुपर्छ ।’
अध्यक्ष ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाललाई ‘हाडीघोप्टे’को संज्ञा दिनु भयो । मानव अधिकारको रक्षामा आफ्नो पार्टी विश्वभरीकै अवधारणाभन्दा अगाडि रहेको उहाँको दाबी थियो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘कुनै संस्थाबाट मान्छे फुट्यो भने नाम एकीकृत राख्छ । जो चाहिँ हाँडिघोप्टे छ, उसले समाजवादी नाम राख्छ । आजको समय त्यस्तो छ । तर, हामी फेसनको पछि होईन, तर्कको पछि लाग्छौं । वास्तविक रुपान्तरणका लागि लाग्छ । विश्वभरका मानवअधिकार अवधारणा भन्दा एमाले एक कदम अगाडी छ ।’
अध्यक्ष ओलीले अरुले एमालेको उचाई प्राप्त गर्न पनि नसक्ने तर यर्स्या गर्ने गरिरहने चलन नै भएको बताउनुभयो ।