हस्त चौलागाई
कालिकोट । कालिकोटमा सञ्चारकर्मीहरुका लागि बाल संवेदनशिलता पत्रकारिता र बाल अधिकार पैरवी सम्बन्धी ३ दिने तालिम शुरु भएको छ । बालबालिका माथि हुँदै आएका हरेक क्रियाकलाप तथा गतिविधि र बालबालिकाले पाउनै पर्ने अधिकारका विषयमा पत्रकार तथा सञ्चारकर्मीहरुले खेल्न सक्ने भूमिकाका विषयमा छलफल हुनेछ ।
बाल अभियान्तालाई सञ्चार क्षेत्र लगायत समाजका विभिन्न क्षेत्रमा नेतृत्व लिन सक्ने क्षमता विकासका लागि सहयोगी भूमिका निर्वाह गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको शुभकालिका गाउँपालिकाका फिल्ड कार्यालय परियोजना संयोजक (बाल संरक्षण) प्रकाश बहादुर शाहीले बताउनुभयाे ।
उहाँका अनुसार पछिल्लो समय कालिकोटका स्थानीय तहमा रहेका बालबालिकाहरुलाई विभिन्न तालिमहरु दिएर समाजमा रहेका हानिकारक अभ्यास न्यूनीकरणतिर बालबालिका सक्रिय भएको बताउनुभयाे । बालबालिकाको क्षेत्रमा पत्रकार तथा सञ्चारकर्मीहरुको महत्वपूर्ण भूमिका रहेकाले सहयोग गर्न समेत शाहीले आग्रह गर्नुभयाे ।
बालबालिकाहरुलाई पत्रकारिताका माध्यमबाट आफ्ना सवालहरुलाई रचनात्मक तथा समालोचनात्मक तरिकाले अभिव्यक्त गर्ने कलाका बारेमा सिकाउने तथा बाल अधिकारका विषयमा विशेष जानकारी दिनका लागि कार्यक्रमको आयोजना गरेको तिलागुफा नगरपालिकाका फिल्ड कार्यालय परियोजना संयोजक (बाल संरक्षण) सरिता खत्रीले बताउनुभयाे ।
सेभ द चिल्ड्रेनका बाल अधिकार शासन, बाल संरक्षण परियोजना संयोजक बाले विश्वकर्माले बालबालिकालाई बाल अधिकार र पैरवीका बारेमा बुझाउने तथा पत्रकारितालाई पैरवी माध्ययमका रुपमा प्रयोग गर्ने गरी तरिका सिकाउने उद्देश्य रहेको बताउनुभयाे । उहाँका अनुसार बालिकाहरुले बाल पत्रकारिता र सरोकारवालासँग छलफल गर्न सक्ने सिप सिकाई आफ्नै नेतृत्वमा बाल कचहरी, रेडियो बहस तथा कार्यक्रम सञ्चालन गर्न सक्षम बनाउनु पनि मूख्य लक्ष्य रहेको उनको भनाइ छ ।
किर्डाक नेपाल कालिकोटका संयोजक तुलाराम पाण्डेले विगत लामो समयदेखि बालबालिकाको क्षेत्रमा, बालविवाहको क्षेत्रमा तथा विभिन्न कुरिती कुसंस्कारको विरुद्धमा काम गर्दै आएको बताउँदै बालबालिकाहरुलाई सक्षम बनाउन तथा उनीहरुको अधिकारको प्रत्याभुत गराउनका लागि तालिमको आयोजना गरेको बताएका छन् ।
कार्यक्रममा प्रशिक्षक सामुदायिक सूचना नेटवर्क सीआइएनका उपसम्पादक शोबिता रिसालले बाल अधिकारका बारेमा जानकारी तथा बाल अधिकार सुनिश्चितताका लागि आमसञ्चार माध्यमको भूमिकाका विषयमा बाल पत्रकारहरुलाई प्रशिक्षण दिनेछन् ।
यस्तै, प्रशिक्षक कान्तिपुरका वरिष्ठ सहायक सम्पादक घनश्याम खड्काले कालिकोटका मिडियामा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरुले वालवालिकाको अधिकार, बालबालिकाको क्षेत्रमा गरेका क्रियाकलापको बारेमा छलफल गर्नेछन्।
आगामी दिनमा बालबालिकाको हरेक अधिकारका लागि पत्रकारहरुको भूमिका के कस्तो रहन्छ, पत्रकारले गर्ने सहयोग, पत्रकारिताको क्षेत्रबाट बाल अधिकारका क्षेत्रमा पुगेको सहयोग र निकट भविष्यमा गर्नुपर्ने कामका विषयमा जानकारी दिने प्रशिक्षक खड्काको भनाइ छ ।
सेभ द चिल्ड्रेन सहयोग, किर्डाक नेपाल कालिकोटको सहजिकरण तथा नेपाल पत्रकार महासंघ कालिकोटको समन्वयमा ३ दिने तालिमको आयोजना गरिएको हो । नेपाल पत्रकार महासंघ कालिकोटका पूर्व अध्यक्ष एवं किर्डाक नेपाल कालिकोटका संयोजक तुलाराम पाण्डेको अध्यक्षता, माननीय जिल्ला न्यायधीस लालकाजी श्रेष्ठको प्रमुख आथित्यता, प्रमुख जिल्ला अधिकारी रामहरी शर्मा, कालिकोट प्रहरी प्रमुख सिद्धाराज न्यौपाने लगायतका सरोकारवालाहरुको उपस्थित रहेको थियो ।
कार्यक्रममा उपस्थित अतिथिहरुले सञ्चारकर्मीहरुका लागि बाल संवेदशिलता पत्रकारिता र बालअधिकार पैरवी सम्बन्धीको तालिम कार्यरत पत्रकारहरुलाई आवश्यक रहेको बताएका छन् । बालबालिकाहरुका लागि बाल पत्रकारिता तालिम गर्नुमा धेरै बालबालिकाहरुको हितका लागि भएको सहभागि अतिथिहरुको भनाइ छ ।
बाल बालिकाहरुका लागि बाल पत्रकारमा तिलागुफा नगरपालिकाका १२ जना किशोरकिशोरी र शुभकालिका गाउँपालिकाबाट ९ जना किशोर किशोरीहरु तालिममा सहभागि रहेको दस्तावेजिकरण रिपोटिङ प्रतिवेदक अफिसर सवि राईले बताएकी छन् । उहाँका अनुसार सञ्चारकर्मीहरुका लागि बाल संवेदनशिलता पत्रकारिता र बाल अधिकार पैरवी तालिमका लागि २५ जना जिल्ला स्थित मिडियामा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरुको सहभागीता रहेको छ ।