नविन सुवेदी
सुर्खेत । देश कठिन मोडमा पुगेको बेला रक्षारर्थ उभिने पार्टी माओवादी केन्द्र मात्रै भएको अध्यक्ष पुष्पकमल दाहालले बताउनुभएकाे छ । पार्टीको कर्णाली कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सहभागि हुन सुर्खेत आइपुगेको दाहालले हरेक कठिन घटनाक्रममा आफ्नो पार्टीले देशलाई सही गतिमा डोर्याउन निर्णायक भूमिका खेलेको दाबी गर्नुभएकाे हाे ।
देशमा विकसित हुने कठिन घटनाक्रममा आफ्नो पार्टीले सही दिशामा लैजान निर्णायक भूमिका निर्वाह गर्दै आएको र पछिल्लो एमसीसी प्रकरणले थप भरोसा माओवादीप्रति बढेको दाहालले बताउनुभयाे । उहाँले देश माओवादीकै एजेन्डामा चलिरहेकाले राष्ट्रिय राजनीति माओवादीकै इसारामा अघि बढेकाे दाबी उहाँकाे थियाे ।
‘अघिल्लो गठबन्धन भन्नुहोस् वा अहिलेको गठबन्धन भन्नुहाेस् कठिन घटनाक्रम हुँदा अन्तिम समयमा माओवादीले जोगाएको छ,’ दाहालले भन्नुभयाे, ‘अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्ने क्रममा राष्ट्र विभाजन हुने खतरामा थियो तर त्यसलाई सही मार्गमा ल्याउन एमसीसी पारित गरेर विभाजन हुनबाट फेरि पनि माओवादीले नै जाेगाएको छ ।’
दाहालले एमसीसी पासपछि गठबन्धन सुरक्षित भएको दाबी गर्नुभयाे । व्याख्यात्मक घोषणामा अमेरिकाको समर्थन भएकाले यसको महत्व बढेको र अपौचारिक पत्र पठाएर जवाफ लिन सरकारको ध्यानाकर्षण गराएको दाहालले उल्लेख गर्नुभयाे । आफूले गठबन्धन मात्रै नभनेको र पार्टीलाई मजबुत बनाउन एकतावद्ध गर्ने अभियानमा लागेको बताउनुभयाे ।
पार्टी नै विभाजन हुन लाग्यो भन्ने चर्चा केही दिन भएपनि केन्द्रीय समितिबाट पार्टीलाई एकतावद्ध गर्न र एउटै विचार लाइनको आधारमा निर्वाचनमा जानेगरी निर्णय गरिएको दाहालले जिकिर गर्नुभयाे । दाहाल नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश कमिटीले आयोजना गरेर प्रशिक्षण कार्यक्रममा सहभागि हुन सुर्खेत आउनुभएकाे हाे ।
वीरेन्द्रनगरको सिटी हलमा आयाेजना गरिएकाे प्रशिक्षण कार्यक्रममा कर्णालीका ७९ वटै पालिका, जिल्लाका पदाधिकारी र प्रदेश कमिटीका पदाधिकारीहरु प्रशिक्षणमा सहभागि छन् । यस्तै, प्रशिक्षणमा प्रदेश सल्लाहकार, प्रदेश जेष्ठ कम्युनिष्ट मञ्च, जनवर्गीय संगठनका केन्द्रीय सदस्यहरु पनि सहभागि भएकाे नेकपा (माओवादी केन्द्र)का सुर्खेत संयाेजक कृष्ण जिसीले जानकारी दिनुभयाे ।