प्रेम यादव
रौतहट । सीमा नाकामा मदिरा सेवन गर्ने संख्या दिनहु बढ्दै गएकाे छ । सिमावर्ती जिल्लामा प्राय: भारतीय नागरिक मदिरा सेवन गर्न नेपाल पस्ने गरेकाे देखिएकाे छ ।
नेपाल भारत सीमाक्षेत्रमा अहिले सबैभन्दा फस्टाएको व्यापार भनेकै मदिराको हो । नेपालमा मदिरा सेवन गर्न आउने र सिमा क्षेत्रबाट मदिरा तस्करीको काम फस्टाएको छ ।
रक्सी सेवन गर्ने बानी परेकाहरु दिनहुँ जसो सीमावर्ती रौतहटको विभिन्न बजारमा आएर मदिराको लत मेटिरहेका भेटिन्छन् । अलिकति हुनेखाने भारतीयहरु सदरमुकाम गौरका होटलमा कोठा नै बुक गरेर रातभरी रक्सी सेवन गरी भोलिपल्ट घर फर्किने गर्छन् भने निम्नवर्गकाहरु मदिराको मात चढेपछि सार्वजनिक सडक मै तमासा देखाउन थाल्छन्।
गौर भन्सार कार्यालय आसपास रहेका अवैध मदिरा पसलहरुमा दिउँसै रक्सी सेवन गरेर सडकमा लड्नेहरुको संख्या दिन प्रतिदिन बढदो छ । भारतको बैरगनीयाबाट रौतहटको गौर प्रवेशको गर्ने बिति्तकै जड्याहाहरुको मुख उज्यालो भएर आउँछ । भन्सार एरियामै खुलेका मदिरालयहरुले उनीको तलतल झनै बढाउछन् र गौर छिर्ने बित्तिकै लोकल रक्सी भट्टिहरुमा भारतीय जड्याहाको बिहानैदेखि भीड शुरु हुन्छ ।
प्रत्येक दिन दिउँसै रक्सीको मातमा लडेका मान्छेहरुले गर्दा बाटो हिडने बटुवा र सवारी साधनलाई पनि समस्या भएको छ भने अर्कोतिर भारतबाट जाँड खान आएकाहरुका कारण पनि सामाजिक विकृती पनि बढिरहेको छ । मदिराको मातमा जड्याहाहरुले अपशब्द बोल्दै होहल्ला गर्ने, कुटाकुट गर्ने र बेहोस भएर लड्दा समेत स्थानीय निकायको ध्यान जान सकेको छैन ।
भारतबाट आउने जड्याहाहरुकै कारण रौतहटको गौर, महादेवपट्टी, बंकुल, औरैया लगायतका सीमावर्ती बजारहरुमा रक्सी भट्टी सञ्चालकहरुको सँख्या समेत बढिरहेको छ । नेपाली व्यक्तिका नाममा दर्ता गराउने तर सञ्चालक भने भारतीय नागरिकहरु रहेको यस्ता रक्सी भट्टीका कारण शहरको स्वरुप पनि कुरुप भएको छ । मदिराकै कारण समाजमा नकारात्क असर पर्दा समेत स्थानीय प्रशासनले कुनै चासो नदेखाइ माैन बसेकाे स्थानीय बताउँछन् ।
बिहारमा रक्सी प्रतिबन्धित भएपछि अवैध रुपमा नेपाली बजारबाट मदिराको निर्यात समेत भइ रहेको छ । मदिरा व्यवसायमा देखिएको विकृतिका कारण स्थानीय चिन्तित बनेका छन् । शान्तीपूर्ण सामाजिक परिवेशमा यस्ता जड्याहाँहरुका कारण असर पुगिरहेको छ । भन्सार कार्याल अगाडि भएका सुरक्षाकर्मीले समेत दैनिक रुपमै दोहरिने यस्ता दृश्यहरु रोक्न कुनै पहल गर्दैनन् ।
भन्सार कार्यालय अगाडि रहेका कतिपय अवैध भट्टिहरुबाट सुरक्षाकर्मीहरुले समेत रकम असुल्ने गरेको स्थानीयले बताएका छन् ।