विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले अब प्रदेश १ किराँत सभ्यता र पहिचानको आधारमा किराँत प्रदेश नै हुनेमा बिश्वस्त हुन आग्रह गर्नुभयाे ।
मुख्यमन्त्री राईले प्रदेश १ को नाम पहिचानको आधारमा किराँत प्रदेश हुनुपर्ने माग गर्दै आफूलाई माग तथा ज्ञापन पत्र नबुझाउन आग्रह गर्नुभयाे ।
शनिवार धरानमा ५औँ किराँत राई चाम्लिङ खाम्बातीमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले 'माग पत्रहरू मलाई बुझाउन छाेडिदिनुस्, पहिचानको आधारमा प्रदेश १ को नामकरण हुनुपर्छ' भनेर आफूले मुटुमा लेखेर राखेको बताउनुभयाे ।
त्यसैले, अब प्रदेश १ किराँत सभ्यता र पहिचानको आधारमा किराँत प्रदेश नै हुनेमा बिश्वस्त हुन आग्रह गर्नुभयाे ।
पहिचानको पक्षमा उभिँदा मैले मुख्यमन्त्री छोड्न परे पनि, पार्टी र राजनीति छाेडन परे पनि म तयार रहेको बताउदै मुख्यमन्त्री राईले भन्नुभयाे, "प्रदेश १ को नाम किराँत हुनुपर्ने माग गर्दै माग पत्र बुझाएर तपाईँहरू मेरो के परीक्षा लिनुहुन्छ ? सुम्निमा र पारुहाङ अनि तीन चुलाको कसम खानुपर्छ म तयार छु ।"
किरात प्रदेश हुनुपर्ने माग गर्दै मन्त्रालय धाउनुको साटो दबाबमूलक कार्यक्रम गर्नुस् भन्दै मुख्यमन्त्री राईले भन्नुभयाे, 'जो पहिचानको पक्षमा उभिएको छैन उसलाई पहिचानको पक्षमा उभिने गरी दबाब दिनुहाेस् । यसो गर्दा पनि भएन भने सबै थरका किराँतीहरु एकजुट भएर दबाबमा लाग्नुस् कसरी हुँदैन तपाईँको माग पूरा ? इटहरी चौकदेखि प्रदेश १ को राजधानी विराटनगरसम्म जम्मा भएर दबाबमा लाग्नुहाेस्।'
कोशी सभ्यता हो भने किराँत पहिचान हो । त्यसैले सबैको सर्वस्वीकार्य नाम किराँत नै ठिक भएको बताउँदै किरात नामकरणका लागि प्रदेश १ का सभासदहरुलाई दबाब दिन आग्रह गर्नुभयाे ।
यसैगरी, कार्यक्रममा प्रदेश १ का खानेपानी, सिँचाई तथा ऊर्जा मन्त्री रामकुमार राईले प्रदेशको नाम किराँत हुनुपर्नेमा बहुमत पुर्याउन समस्या रहेको बताउनुभयाे । बहुमतका लागि ६२ जना सांसद हुनुपर्नेमा अहिले गठबन्धनमा ५० जना मात्रै पुग्ने भएको उहाँले बताउनुभयाे । कार्यक्रममा सांसद सुदन किराँती र प्रदेश १ का सभामुख प्रदीप भण्डारीले पनि मन्तव्य राख्नुभयाे ।
शनिवार देखि शुरु भएको ५ औँ किरात राई चाम्लिङ खाम्बातिमको अधिवेशन तीन दिनसम्म धरानमा चल्ने बताइएको छ। कार्यक्रमको उद्घाटन पूर्व सांस्कृतिक झाँक्रीसहितको र्याली निकालिएको थियो ।