काठमाडौं । संसद्ले १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसिसी अनुमोदन गरेको एक महिना नपुग्दै चीनका विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी चैत दोस्रो साता नेपाल भ्रमणमा आउनुहुने भएको छ ।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भ्रमणबारे सत्तारुढ र प्रतिपक्षी पार्टीका शीर्ष नेतृत्वलाई जानकारी दिइसक्नुभएको छ । नेपालका लागि चिनियाँ राजदूत यान्छीले प्रमुख दलका शीर्ष नेताहरूलाई १२ देखि १३ चैतसम्म चिनियाँ विदेशमन्त्रीको भ्रमण हुने जानकारी दिनुभएको छ । तर, नेपाल र चीन दुवैले भ्रमणको मिति सार्वजनिक गरिसकेका छैनन् । कूटनीतिक च्यानलमार्फत नेपाल सरकारलाई र चिनियाँ राजदूतमार्फत भने प्रमुख दलका शीर्ष नेतालाई भ्रमणको जानकारी आइसकेको छ ।
नेपालमा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएपछि चीनबाट आउन लागेका वाङ सबैभन्दा उच्च अधिकारी हुनुहुन्छ । चीनका रक्षामन्त्री वेई फङ्गेले १४ मंसिर ०७७ मा भ्रमण गरेयता नेपाल भ्रमण गर्न लागेका वाङ उपल्ला चिनियाँ अधिकारी हुनुहुन्छ । दुई वर्षअघि कोरोना महामारी सुरु भएयता नेपाल भ्रमण गर्न लागेका वाङ दोस्रो चिनियाँ उच्च अधिकारी हुनुहुन्छ ।
परराष्ट्रमन्त्री डा नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङबीच गत २ कात्तिकमा एक घन्टा लामो टेलिफोन कुराकानी भएको थियो । दुई परराष्ट्रमन्त्रीबीच पहिलोपटक भेट हुन लागेको हो ।
नेपालले चिनियाँ असन्तोषमाझ अमेरिकी सहायता परियोजना (एमसिसी) पारित गरेपछि चिनियाँ विदेशमन्त्री वाङको भ्रमण हुँदै छ । एक वर्षअघि चिनियाँ रक्षामन्त्री वेई तत्कालीन नेकपाको विभाजनको सम्मुखमा आइपुग्नुुभएको थियो । एमसिसी पारित भएको अवस्थामा विदेशमन्त्री वाङ आइपुग्न लाग्नुभएको हो । नेपालमा एमसिसीका विषयमा अमेरिका र चीनबीच आरोप प्रत्यारोप चलिरहेका वेला एमसिसी पारित भएपछि चीनले त्यसलाई नोट गरेको भनाइ सार्वजनिक गरेको थियो ।
यसैबीच नेपाल सरकारले चिनियाँ विदेशमन्त्रीको भ्रमणको तयारी गरिरहेको बताइएको छ । उहाँ १२ चैतमा आएर १३ चैतमा बाहिरिने गरी कार्यक्रम बनिरहेको छ । सरकारले उहाँको सुरक्षाको बन्दोबस्तका लागि तयारी थालिसकेको छ । भेटघाटका लागि चिनियाँ राजदूतले शीर्ष नेताहरूसँग समय व्यवस्थापन लगभग गरिसकेको स्रोतले बताएको छ ।
चिनियाँ राजदूत यान्छीले प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई भ्रमणबारे जानकारी गराइसक्नुभएको छ । स्रोतका अनुसार कूटनीतिक च्यानलमार्फत परराष्ट्रमन्त्री खड्कालाई आएको जानकारी प्रधानमन्त्री देउवालाई भइसकेको छ । भेटघाटका कार्यक्रम १२ चैतमा हुने गरी कार्यक्रम तय भएको छ ।
नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार अनुसार स्टेट काउन्सिलर वाङले नेपाली समकक्षी डा। खड्कासँग द्विपक्षीय औपचारिक वार्ता गर्नुहुनेछ भने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट हुनेछ । वाङसँग प्रमुख दलका शीर्ष नेताहरुले पनि भेटघाट गर्ने तय भइसकेको स्रोतले बतायो ।
चिनियाँ विदेशमन्त्रीको भ्रमणमा अहिलेसम्म कार्यान्वयन हुन नसकेको बिआरआई सहकार्यका विषयमा ठोस छलफल हुने अधिकारीहरूको भनाइ छ । बिआरआई कार्यान्वयन सम्झौताको मस्यौदा नेपालले पठाइसकेको छ, तर चीनबाट जवाफ आउन बाँकी छ । नेपालले तीन वर्षअघि नै पठाएका नौ परियोजनामध्ये एउटा पनि बिआरआईअन्तर्गत कार्यान्वयन भएको छैन ।