काठमाडाैं । राजनेता विपी कोइरालाको बारेमा ‘राजद्रोही राजनेता’ नामक डकुमेण्ट्री फिल्म निर्माण भएको छ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोईरालामाथि लागेका ८ राजद्रोह सम्बन्धी मुद्दाको प्रवाह नगरी स्वदेश फर्किएको र जनमत संग्रहको घोषणा भएको कुरा उल्लेख गरी डकुमेण्ट्री निर्माण गरिएकाे हाे ।
स्वदेश फर्किएपछि कसरी विपी राजनेता बन्न सफल भए भन्ने कुरा पनि डकुमेण्ट्रीमा देखाइएको छ । नेपालको स्वाधीनता कसरी जोगियो भन्ने बारेमा पनि यस डकुमेण्ट्रीमा उतारिएको छ ।
डकुमेण्ट्री हेरेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले दक्षिण एशियामा भारत सोभियत गठबन्धनले साना मुलुकहरुमाथि ठूलो खतरा पैदा गरेको अवस्था र जसका कारण नेपालको मानचित्र नै परिवर्तन भएको बेलामा विपीले चालेका कदमको प्रशंसा गर्नुभयो ।
उहाँले विपीको उक्त कदमलाई नेपालको लोकतान्त्रिक आन्दोलनको शाहसीक कदमका रुपमा चित्रण गर्नुभयो । पूर्व प्रधानमन्त्री खनालले त्यो बेलामा वामपन्थी कम्युनिष्टहरुले पनि आन्दोलनमा सहयोग गरिरहेको कुरा डकुमेण्ट्रीमा समावेश गरेको भए सुनमा सुगन्ध हुने धारणा राख्नुभयो ।
त्यस्तै, नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले इतिहासको कालखण्डलाई सम्झाउन यो डकुमेण्ट्री अति उपयोगि भएको बताउनुभयो । उहाँले यो डकुमेण्ट्रीलाई हेरेर राजनीतिक व्यक्तित्वहरुले नेपालको भविष्य कतातिर जाँदैछ भन्ने कुरा बताउन सक्ने जिकिर गर्नुभयो । नेता कोईरालाले यो हरेक नेपालीले हेर्नुपर्ने डकुमेण्ट्री भएको बताउनुभयो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले यस डकुमेण्ट्रीमा विपी कोईरालाको नेपाल प्रवेशपछि जनमतसंग्रहसम्मका घटनाक्रमहरुलाई समेटिएको र यसले इतिहासको संरक्षण भएको बताउनुभयो । उहाँले यस डकुमेण्ट्रीमा नेपालको राजनीति कसरी व्यतित भयो भन्ने कुरा जीवन्त उतारिएको बताउनुभयो । अध्यक्ष पोखरेलले नयाँ पुस्ताका लागि यो डकुमेण्ट्री अत्यन्त महत्वपूर्ण भएको बताउनु भयो ।
राजनीतिक विश्लेषक डा. राम थपलियाले विपीले जहिल्यै सत्य, न्याय, प्रेम र यथार्थतालाई अंगालेको बताउनुभयो । उहाँले विपीको राष्ट्रिय मेलमिलापको औचित्य आज झनै महत्वपूर्ण रहेको बताउनुभयो । राजनीतिक विश्लेषक थपलियाले भन्नुभयो, ‘विपीले जहिले पनि ४ वटा चिजलाई समेटेको देखिन्छ । सत्य, न्याय, प्रेम, यथार्थता । त्यसैले यो राष्ट्रिय मेलमिलापको औचित्य आजको दिनमा अझ बढी महत्वपूर्ण छ ।’
सशस्त्र प्रहरी बलका पूर्व प्रमुख सनत बस्नेतले यो डकुमेण्ट्रीबाट राजनीतिमा नैतिकता धेरै बलियो हुन्छ भन्ने सन्देश दिइएको र अहिलेका राजनीतिज्ञहरुले यसबाट धेरै कुरा बुझ्न सक्ने बताउनुभयो । उहाँले नैतिक बलमा नै राजनीति अडिनु पर्छ भन्ने कुरा राजनीतिक दलहरुले भुल्न नहुने भन्दै नैतिकता सिकेका राजनीतिक दलहरुले समाज र राजनीतिमा भएको ह्रास मेटाउन सक्ने बताउनुभयो ।
राजनीतिकर्मी डा. शिवजी यादवले यो डकुमेण्ट्रीले नेपालमा नौलो आयाम थपेको बताउनुभयो । उहाँले अहिलेका राजनीतिक कर्मीहरुले यस डकुमेण्ट्रीबाट सिकेर अघि बढ्न आवश्यक रहेको औँल्याउनुभयो ।
‘राजद्रोही राजनेता’को निर्माणसँगै अन्वेषण अभियानले अन्य १२ वटा ऐतिहासिक डकुमेण्ट्री निर्माण कार्य अघि बढेको बताएको छ ।