प्रमोदकुमार साह
धनुषा । विश्वभरिका हिन्दू धर्मावलम्बीहरुको आस्थाका केन्द्र तथा नेपालकै सबैभन्दा ठुलो मन्दिर जानकी मन्दिर सरोकारवालाहरुको बदमासीका कारण अहिले संकटमा परेको छ ।
जानकी मन्दिरलाई झिलिमिली बनाउने प्रवासी नेपालीको सपना, मुख्यमन्त्रीको मन्दिर सौन्दर्यीकरण र वृहत्तर जनकपुर क्षेत्र विकास क्षेत्रको विद्युतमा गरिएको करोडौको लगानी पानीमा मिसिएको देखिएको छ । जानकी मन्दिरमा बालिने विद्युतको करोडौ रकम बाँकी वक्यौता र सौन्दर्यीकरणका लागि काम गरिरहेका ठेकेदारले जबरजस्ती हुकिङ् गरी विद्युत प्रयोग गरेको भेटिएपछि प्राधिकरणले अहिले मन्दिरको विद्युत अवरुद्ध गरेको छ । अर्थात सबैलाई उज्जयालो दिने भगवानको घरलाई अहिले अँध्यारो बनाइएको छ ।
मन्दिर सौन्दर्यीकरणका लागि ठेक्का लिएका ठेकेदार रामवबिश्वास बैठाले चोरी गरेर विद्युत हुकिङ् गरि मेशिन प्रयोग गरेको भेटिएपछि विद्युत प्राधिकरणले मन्दिरको विद्युत नै अवरुद्ध गरेर कारबाही गरेको छ भने ठेकेदारलाई १२ हजार क्षतिपूर्ति लिएर छोडिए पनि मन्दिरको विद्युत सुचारु गरिएको छैन ।
स्थानियवासीहरुका अनुसार दैनिक पर्यटक आउने क्षेत्रमा विद्युत काटिनु अन्याय रहेको छ । लाइट बल्दा मन्दिर सुन्दर देखिन्थयो तर अहिले मन्दिरलाई अन्ध्यारो बनाएर कुरुप बनाइएको छ ।
यता जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले मन्दिरको प्रांगनमा लगाइएको विद्युतको लाईट आफना स्विकृति विना लगाइएको र यसका लागि मिटर समेत नलगाएको तथा ठेकेदारले विद्युत चोरी गर्दै आएकोले प्राधिकरणले विद्युत अवरुद्ध गरिएको आफूलाई थाहा भएको र विद्युत सञ्चालनका लागि भने पनि अहिलेसम्म सञ्चालन नभएको बताउनुभयाे । उहाँले आफू भगवानको पुजारी रहेकाले विद्युतको प्रक्रियाबारे आफूलाई केही थाहा नभएको बताउनुभयाे ।
विद्युत अवरुधको सम्बन्धमा नेपाल विद्युत प्राधिकरण जनकपुरधाम वितरण केन्द्रका प्रमुख लखनलाल मल्लिकले मुख्यमन्त्री सौन्दर्यीकरण योजना अन्तर्गत लगाइएको लाईट सञ्चालनका लागि मुख्यमन्त्रीको डाइरेक्ट अनुरोधमा कनेक्सनका लागि भनिएको थियो जुन पछि गएर प्रक्रियामा जाने भनेपछि कनेक्सन गरिएको बताउनुभयाे । तर महिनौ बित्दा समेत मिटर जडानको प्रक्रिया नअपनाइएको बताउँदै उनले झन् त्यसमा गैर कानुनी तवरले ठेकेदारले विद्युत चोरी गरिरहेको पाइएको र केही व्यक्तिकै निवेदनका आधारमा विद्युत अवरुद्ध गरिएको बताउनुभयाे ।
यता प्राधिकरणको कारवाहीको विषयमा समेत स्थानीयबासी नरेश झाले आपति जनाउनुभएकाे छ । उहाँले घरमा विद्यूत चोरी गरेको पाउँदा प्राधिकरणले २० हजार जरिवाना तिराउने गरेको तर ठेकेदारले जेनेरेटर प्रयोग नगरी आफ्नो पैसा बचाउन विद्युत चोरी गर्दा समेत १२ हजार मात्र जरिवाना तिराउनु प्राधिकरणको बदमासी रहेको भनि आरोप लगाउनुभयाे ।
जानकी मन्दिरमा विद्युत अवरुद्ध हुनुमा मन्दिर वरपरकै केही ठुला भनाउँदाहरुको बदमासी रहेको स्थानीयवासीहरुको आरोप छ । विद्युत बलिरहँदा विद्युत काटनका लागि उनीहरुकै निवेदनका आधारमा विद्युत अवरुद्ध गरिएको तर अहिले बिश्वसम्पदामा सुचिकृत हुने आशमा बसेको जानकी मन्दिर अँध्यारो हुँदा पनि कसैको नजर नजानु दु:खद् रहेको स्थानीयबासीको भनाइ छ ।