प्रेम यादव
रौतहट । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत रौतहटमा दुई बस एकआपसमा ठक्कर खाँदा १४ जना घाइते भएका छन् । बिहीवार बिहान साढे तीन बजेतिर पूर्व पश्चिम राजमार्गको चन्द्रपुर नगरपालिका १ को पूर्वी लच्कामा र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु २ ख ४७५८ नम्बरको बसलाई सोही दिशातर्फ जाँदै गरेको ना ७ ख २०८१ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको हो ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र २–०३–००५ प १५४ नम्बरको मोटरसाइकललाई बचाउने क्रममा ना ७ ख २०८१ नम्बरको बसले अर्को बसलाई पछाडिबाट ठक्कर दिएको उनले बताउनुभयाे ।
घाइते हुनेमा बसको सहचालक उदयपुर सिला नगरपालिका–१० बस्ने बर्ष ४० वर्षीय कृष्ण घिमिरे, सिन्धुली बस्ने ३७ वर्षीय विष्णु बिक, सप्तरीको कृष्ण नगरपालिका ४ बस्ने २३ वर्षीय धनराज यादव, मोटरसाइकल चालक सर्लाहीको हरिवन नगरपालिका ११ बस्ने २६ वर्षीय अनिष भन्ने यम बहादुर खडका, सप्तरीको बोदे बरसाही नगरपालिका ४ बस्ने ३१ वर्षिय महमद अंसारुल र सोही स्थान बस्ने ४ वर्षीय राम तुल्लाह मिया घाइते भएका छन् ।
त्यस्तै, घाइते हुनेहरूमा सप्तरीको सप्तकोशी नगरपालिका १० बस्ने ६५ वर्षीय चतुर चौधरी, सप्तरीको कञ्चनपुर नगरपालिका ८ बस्ने २८ वर्षीय प्रसुन मलिक, सप्तरीको कञ्चनपुर नगरपालिका ६ बस्ने २६ वर्षीय कमानन्द चौधरी, सिराहा धनगढीमाई नगरपालिका ८ बस्ने २५ वर्षीय धर्मेन्द्र महतो, सोही स्थान बस्ने बर्ष २३ वर्षीय अजय कुमार महतो, सप्तरीको राजबिराज नगरपालिका ८ बस्ने ३२ वर्षिय राज कुमार सेठ, सिराहाको धनगढीमाई नगरपालिका ९ बस्ने ३० वर्षीय राम प्रकाश महतो, उदयपुरको कटारी नगरपाकिला १ बस्ने ३१ वर्षीय हरिबहादुर अधिकारी रहेको प्रहरीले जनाएको छ ।
घाइतेको हात, खुट्टा , टाउकोलगायत शरीरका विभिन्न भागहरुमा चोट लागेको छ । घाइतेहरुको उपचार चन्द्रनिगाहपुर स्थित एपोलो सिटी अस्पताल र चन्द्रपुर अस्पतालमा भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
घाइते सहचालक कृष्ण घिमिरेलाइ भने चन्द्रपुर प्रालिमा सामान्य उपचार पश्चात थप उपचारको लागि साथ न्यूरो वीरगञ्जको पठाइएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।