नुवाकोट । रोटरी क्लब अफ काठमाडौं डाउन टाउनले शिवपुरी गाउँपालिकाको समुन्द्रा माध्यमिक विद्यालयका विधार्थीहरुलाई कापी किताब बोक्ने झोलासहित स्टेशनरी प्रदान गरेको छ ।
सामुदायिक विद्यालयको रुपमा सञ्चालित सो विद्यालयका विद्यार्थीहरुले झोला समेत नभएर हातमा किताब कापी बोकेर विद्यालय जाने गरेको जानकारी पाएपछि क्लब झोलासहित स्टेशनरी लिएर विद्यालय पुगेको थियो ।
आर्थिक स्थिति कमजोर भएको सो गाउँका अभिभापकले आफ्ना छोराछाेरीलाई झोला, खुट्टामा लगाउने जुत्ता समेत किनि दिन सकेका छैनन् । जाडोमा पनि उनीहरु सामान्य चप्पल लगाएर विद्यालय जाने गरेका छन् । कतिपयको खुट्टामा त चप्पल पनि देखिदैन । उनीहरुको शरीरमा पनि जाडो छेक्ने बाक्लो कपडा पनि देखिँदैन।
अति विपन्न परिवारका बालबालिकाहरुको अवस्था हेर्दा अत्यन्त दयनीय देखिन्छ तर त्यस्ता छात्राछात्रका लागि राज्यको ध्यान गएको देखिदैन ।
विद्यालयकी एक शिक्षिका भन्दै थिइन्, सानादेखि ठुलासम्मका विद्यार्थीहरुलाई जाडोको समयमा हेर्दा त रुन मन लाग्छ, के गर्ने ? गरीब परिवारका छोराछोरी हुनु उनीहरुको दोष त होइन तर त्यस्ता सामुदायिक विद्यालय र विद्यार्थीलाई कस्ले हेर्ने ?
सम्पन्न परिवारका छोराछोरी सुटेट बुटेट भएर बोर्डिङ्ग स्कुल जान्छन् तर त्यही बाटोसँगै हिड्दा गरिब परिवारका छोराछारी नाङ्गा खुट्टा, पातलो कपडा र हातमा किताब कापी बोकी काम्दै स्कुल पुग्छन् । ती शिक्षिका भन्दै थिइन्–शिक्षाका लागि भनेर करोडौं खर्च भएको सुनिन्छ तर यो गाउँका बच्चाले त्यसको सुइको पनि पाउँदैनन् । के शिक्षा पनि गरिब र धनीका लागि फरक फरक हो ? कतिपय विद्यार्थीले त पेटभरि खान प नि पाएका हुँदैनन । अनि स्कुलमाआएर मेडम, सर भोक लाग्यो भन्छन् अनि भक्कानो छोडेर रुन मन लाग्छ ।
काठमाडौबाट करिब १७ किलोमिटर मात्र टाढा भए पनि अलिक आर्थिक स्थिति कमजोर भएका विद्यार्थीहरु अध्ययनरत विद्यार्थीहरुलाई सहयोग गर्ने हेतुले रोटरी क्लब अफ काठमाडौ डाउन टाउनका अध्यक्ष श्यामबहादुर पराजुलीको नेतृत्वमा एउटा टोली सो विद्यालय पुगेको थियो ।
अध्यक्ष पराजुलीसहित वरिष्ठ पत्रकार टंक पन्त, ग्रिनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डन, युवा नेता समाजसेबी हरि ढकाल, ब्यबसायीहरु बिष्णु पोख्रेल, पवन पाख्रिन, अनुजराज पौडेल, अमुल प्रधान, प्रेम जोशीले छात्रा छात्रलाई झोलासहित स्टेसनरी हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा विद्यालय सञ्चालक समितिका अध्यक्ष लालबहादुर तामाङ्गले विद्यार्थीमा भएको सहयोगले विद्यालय परिवार त खुशी छ त्यो भन्दा बढी ती भाइबहिनीको आत्मा नै खुशी भएको आफूले अनुभुति गरेको बताउनुभयो । सो विद्यालयका प्राधानाध्यापकसहित शिक्षक शिक्षिकाले क्लबको टोलीलाई स्वागत गरेका थिए ।
अध्यक्ष तामाङ्गले आगामी दिनमा यस विद्यालयका भाइबहिनीका लागि क्लबमार्फत् थप सहयोग हुने बिश्वास ब्यक्त गर्नुभयो ।
सो क्लबले समय समयमा विभिन्न स्थानमा स्वास्थ्य शिविर, वृक्षरोपण, विपन्न परिवारलाई सहयोग, आश्रमहरुमा सहयोग, जनचेतना मुलक कार्यक्रम गर्दै आएको अध्यक्ष पराजुलीले जानकारी गराउनु भयाे ।