इलाम । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली आइतबार इलामको सूर्योदय नगरपालिका जानलाग्नुभएको छ ।
एमालेको बृहत् जनसभालाई सम्बोधन गर्न अध्यक्ष ओली इलाम पुग्न लाग्नुभएको हो । ओलीसँगै एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ जनसभालाई सम्बोधन गर्नुहुनेछ ।
एमाले इलामका अध्यक्ष महेश बस्नेतका अनुसार इलामको निर्वाचन क्षेत्र नम्बर १ मा कार्यक्रम हुँदैछ ।
इलामको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट झलनाथ खनाल विजयी हुनुभएको थियो । खनाल नेकपा एकीकृत समाजवादी पार्टीमा लागेपछि एमालेले सूर्योदयमा जनसभाको आयोजना गर्न लागेको हो ।
खनालले एमाले छाडे पनि सूर्योदयमा नेकपा एमाले कमजोर नभएको एमाले अध्यक्ष बस्नेतको दाबी छ । ‘इलामको क्षेत्र नम्बर १ एमालेले जितेको क्षेत्र हो, हामी अहिले पनि यहाँको पहिलो पार्टी हौ’, अध्यक्ष बस्नेतले भन्नुभयो,‘को कत्रो छ भन्ने कुरा वैशाख ३० मा थाहा भइहाल्छ ।’
पार्टीको नीति बिचार कार्यक्रमलाई आम जनतासम्म पुर्याउनको लागि जनसभाको आयोजना गरेको एमाले जनाएको छ ।
नेकपा एमाले सूर्योदय नगर कमिटीको आयोजना तथा जिल्ला कमिटीको व्यवस्थापनमा हुने जनसभाको तयारी तीव्र रूपमा भइरहेको सूर्योदय नगर कमिटीकी अध्यक्ष दुर्गादेवी भट्टराईले जानकारी दिनुभयो ।
फिक्कल चोक बजारमा आयोजना गरिएको जनसभामा १० हजार भन्दा बढी अगुवा कार्यकर्ता, शुभेच्छुक र सर्वसाधारण सहभागी हुने आयोजकको अपेक्षा छ ।