म्याग्दी । धौलागिरी क्षेत्र पर्यटकीय गन्तव्यस्थलका रुपमा विकसित हुँदै गएको छ । साविकको धौलागिरि अञ्चलका म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वतमा पछिल्लो एक दशकमा दुई दर्जनभन्दा बढी मानवनिर्मित र प्राकृतिक पर्यटकीयस्थलको पहिचान, व्यवस्थापन र निर्माण भएपछि यस क्षेत्रले पर्यटन विकासमा फड्को मार्दै जान थालेको हो।
कास्कीको नयाँ पुल तरेपछि सुरु हुने धौलागिरी क्षेत्रमा अहिले दुई दर्जन बढी पर्यटकीयस्थलले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिच्न सफल भएका छन् ।
राउण्ड अन्नपूर्णको चर्चित पर्यटकीयस्थल घोडे पानीदेखि लिएर म्याग्दीको टोड्के, खयरबराह, करबाकेली, राम्चे, लभ्लीहिल, गलेश्वर, महारानी थान, ताकमकोट, ज्यामरुककोट, डढेकोट, जगन्नाथ, झाँक्रीपानी, पर्वतको कुश्मा र बागलुङको बलेवा जोड्ने गरी निर्माण भएको विश्वकै दोस्रो अग्लो बञ्जीजम्प, विश्वको दोस्रो लामो जिपलाइन गुप्तेश्वर धामलगायत बागलुङ र मुस्ताङका दर्जन बढी पर्यटकीयस्थलमा पूर्वाधार निर्माण र चुस्त व्यवस्थापनले पर्यटक आकर्षित भएका हुन् ।
त्यसैगरी, बागलुङ कालिका, विश्वकै लामो झोलुङ्गे पुल, पञ्चकोट, सालग्राम सङग्रहालय जस्ता मानवनिर्मित धार्मिकस्थल तथा आध्यात्मिक केन्द्रको व्यवस्थापन र प्रचारप्रसारले धौलागिरि क्षेत्रको मुहार उजिल्याउन सहयोग पुगेको स्थानीयवासीले बताएका छन् । त्यस्तै मुस्ताङ जाने बाटोमै विश्वकै अलौकिक तीर्थस्थल गलेश्वरधाम, म्याग्दीको दानास्थित रुप्से झरनाले पनि पर्यटकलाई लोभ्याउने गरेका यस क्षेत्रका पर्यटन व्यवसायीको भनाइ रहेको छ ।
त्यसैगरी, हिमालपारीको जिल्ला भनेर चिनिएको मुस्ताङको विविधतायुक्त भूगोल, हिमशृङ्खला, ढुम्बा ताल, कागबेनी, हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ र यहाँका रमणीयस्थलले धार्मिक तथा पर्यावरणीय पर्यटकको ध्यान खिच्न सफल भएका मुस्ताङका रोशन शेरचनले बताउनुभयो ।
यानीमाया, सुनिमाया, सालैजो, झ्याउरे गीत र विभिन्न संस्कार संस्कृतिले चिनिएको धौलागिरिलाई अब धार्मिक तथा पर्यटकीय गन्तव्यले पनि चिनाउन थालेको बागलुङका पत्रकार डम्मरबहादुर बुढामगरले बताउनुभयो ।
करिब डेढवर्ष कोरोनाका कारण बन्द भएका यी गन्तव्य पुनः तङ्ग्रिन थालेका छन् । कोरोनाका बीचमा पनि धेरै धार्मिक तथा पर्यकटीय क्षेत्रमा संरचना निर्माण भएका छन् । लगानीकर्ताले पनि यो समय पर्यटन क्षेत्रमा धेरै लगानी गरेका छन्।
करिब दुई वर्षअघि सञ्चालनमा आएको पर्वतको सदरमुकाम कुश्मा र बागलुङको बलेवा जोड्ने कालीगण्डकीको खोचमा बनेकोे विश्वकै अग्लो बञ्जीजम्प धौलागिरि क्षेत्रको पर्यटन विस्तारमा कोसेढुङ्गा सावित भएको छ । द क्लिफ प्रालिमार्फत् सञ्चालनमा आएको बञ्जीजम्पमा पछिल्लो समय आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको र संरचना निर्माण गर्न झण्डै ४८ करोड खर्च भएको द क्लिप प्रालिका सञ्चालक राजु कार्कीले जानकारी दिनुभयो ।
कालीगण्डकीदेखि पुलको उचाइ २२८ मिटर
त्यसैगरी, बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण भएको लामो झोलुङ्गे पुल सञ्चालनमा आएपछि पर्यटकको आकर्षण बढेको छ । यो पुल ५६७ मिटर लामो र १३८ मिटर अग्लो छ । पूर्व–पश्चिम मध्यपहाडी लोकमार्ग, उत्तर–दक्षिण कालीगण्डकी करिडोरको केन्द्रमै पर्ने यो पुल आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । पुलमा दैनिक सयौँ आन्तरिक पर्यटकको आगमन हुने गरेको छ भने फाट्टफुट्ट बाह्य पर्यटकसमेत आउने गरेको स्थानीयवासीको भनाइ छ ।
पुल सात करोड ९७ लाख ८६ हजारमा निर्माण भएको थियो । झोलुङ्गे पुल सञ्चालनमा आएपछि पर्यटन व्यवसाय फस्टाउन थालेको पर्यटन विकास समिति बागलुङका अध्यक्ष राजु खड्काले बताउनुभयो ।