काठमाडाैं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को १०औँ महाधिवेशन चैत्र १० र ११ काठमाडाैंमा हुने भएको छ। मंगलवार गैरआवासीय नेपाली संघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विधानसम्मन दशौं महाधिवेशन गर्ने जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कुमार पन्तले गैरआवासीय एक र एकतावद्ध रहने दाबी गर्नुभयो। उहाँले एनआरएनएले नेपालको सामाजिक तथा आर्थिक समृद्धिको निम्ति प्रभावकारी भूमिका खेल्ने बताउनुभयो। अध्यक्ष पन्तले अधिवेशनबाट तीनै जना अध्यक्षका उम्मेदवारहरुले मिलेर संस्थालाई अघि बढाउने सहमति भएको पनि जानकारी दिनुभयो ।
अध्यक्ष पन्तले भन्नुभयो, ‘गैरआवासीय नेपाली संघ एक रहन्छ, एकतावद्ध रहन्छ । अब गैरआवासीय नेपाली संघ एकतावद्ध रहन्छ म दाबाका साथ भन्न सक्छु । यसले नेपालको सामाजिक तथा आर्थिक समृद्धिको निम्ति झनै प्रभावकारी र महत्वपूर्ण भूमिका खेल्दै जानेछ । मार्चको २६ र २७ गते महाधिवेशन र विशेष सम्मेलन गर्ने भनेको थियौँ, त्यसलाई केही परिमार्जन गरेर २४ र २५ मा गर्ने निर्णय गरेका छौँ ।’
त्यस्तै अध्यक्षका उम्मेदवार डा. बद्री केसीले अहिलेको अवस्थामा संस्थामा वृहत आमसहमति गर्नु बाहेक अन्य कुनै विकल्प नभएको बताउनुभयो । उहाँले हरेकले आफ्नो व्यक्तिगत स्वार्थभन्दा संस्थाको स्वार्थलाई माथि राखेर अघि बढ्न आवश्यक रहेको भन्दै तीनै जना अध्यक्षका प्रत्यासीहरु मिलेर संस्थालाई अघि बढाउने बताउनुभयो ।
त्यस्तै अर्का अध्यक्षका प्रत्यासी कुल आचार्यले पदको लागि भन्दा पनि संस्था बचाउने निर्णयमा पुगेको बताउनुभयो । उहाँले सबै गैर आवासीय नेपालीहरुले राष्ट्रिय सहमतिको अधिवेशन गर्नेमा जोड दिइरहेको पनि बताउनुभयो ।
त्यस्तै अध्यक्ष पदर्की प्रत्यासी रविना थापाले संस्थामा भएका विवादहरुलाई समाधान गरेर सहमतिमा संस्थालाई अघि बढाउने बताउनु भयो । उहाँले अहिलेको एनआरएनएको अवस्थालाई सहमति, सहकार्यबेगर यसलाई अघि लैजान गाह्रो भएको पनि बताउनु भयो ।
एनआरएनएले गैर आवासीय नेपाली संघलाई स्वतन्त्र, स्वायत्त, गैरराजनीतिक, सामाजिक तथा परोपकारी संस्थाको रुपमा अक्षुण राख्दै थप प्रभावकारी बनाउन पनि राजनीतिक दल र सम्बद्ध पक्षसँग आग्रह गरेको छ। यो महाधिवेशनपछि सहमति प्रणालीबाट नेतृत्व गर्ने निर्णय भएको पनि अध्यक्षकी प्रत्यासी थापाले बताउनुभयो ।