काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालले भक्तपुरको दुवाकोटमा आधुनिक नमुना अस्पताल बनाउने, सो नबनेसम्म दुवाकोटमा ल्याब र एक्सरे सेवा सुरु गर्ने घोषणा गर्नुभएको छ ।
आज (मंगलवार) मन्त्री खतिवडाले भक्तपुरको दुवाकोटमा वीर अस्पताल विस्तारको परियोजनाको अनुगमन गर्दै स्थानीयसँग अन्तरक्रिया समेत गर्नुभएको थियो ।
छलफलपछि वीर अस्पतालका लागि प्रस्तावित जग्गा स्वास्थ्यमन्त्री खतिवडाले निरीक्षण गरी आगामी २०७९ बैशाख १ गतेबाट स्थानीयको माग बमोजिम सो सुविधा सञ्चालनमा ल्याउने घोषणा गर्नुभयो ।
वीर अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा. भुपेन्द्र बस्नेतले स्थानीयको माग र सरकारको निर्देशन बमोजिम आफूहरु सेवा दिन तत्पर रहेको बताउनुभयो ।
बैशाख १ गतेबाट दुवाकोटमा ल्याब, एक्सरे सेवा सुरु गर्दै त्यो ठाउँमा पायक पर्नेलाई सेवा दिइने उहाँको भनाइ छ ।
अनुगमनका लागि स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, स्वास्थ्य मन्त्रालयमा सचिवद्वय डा. रोशन पोखरेल र देवकुमारी गुरागाईँ, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति देवनारायण साह, मन्त्रालयका विज्ञ सल्लाहकार डा. रमेश ढकाल, नीति योजना महाशाखा प्रमुख डा. कृष्ण पौडेल, प्रवक्ता डा. संगिता मिश्रा लगायत स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीको टोली पुगेको थियो ।
टोलीलाई मेयर सोम मिश्र लगायतले स्वागत गर्नुभएकाे थियाे।