राज दयाल
ओखलढुंगा । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा जिल्लामा ५ वटा सरकारी कार्यालय भवन निर्माण सम्पन्न भएको छ । जिल्ला स्थित जिल्ला भूसंरक्षण कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, राष्ट्रिय अनुसन्धान, जिल्ला पशु सेवा र जिल्ला सरकारी वकिलको कार्यालय भवन निर्माण सम्पन्न भएको हो ।
तत्कालिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई ओखलढुंगा मार्फत निर्माण ब्यवसायी लुम्बिनी विल्डर्स डाँफे जेभीले ठेक्का प्रक्रियाबाट सदरमुकाममा भवन निर्माण सम्पन्न गरेको छ । सम्झौता मितिले झन्डै २ वर्षमा निर्माण सम्पन्न हुनुपर्ने भनिएपनि निर्माण ब्यवसायीले विभिन्न बाहनामा म्याद थप गर्दै हालै मात्र निर्माण सकेको हो ।
५ वटै भवन झन्डै १८ करोड ५४ लाखको लागतमा निर्माण सकिएको सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाका आयोजना प्रमुख तुल्सीराम खर्बुजाले बताउनुभयो । उहाँका अनुशार तोकिएको समयमा निर्माण सम्पन्न गर्न नसकेपछि निर्माण ब्यवसायीलाई १२ लाख रुपैयाँ जरिवाना समेत गराईएको थियो ।
(तत्कालिन पुनर्निमाण प्राधिकरण खारेज भएपछि पुननिर्माणको काम सघन सहरी तथा भवन निर्माण आयोजना मार्फत भैरहेको छ ।) नव निर्मित सरकारी भवनहरुको आज (बुधबार) एक कार्यक्रमका बिच सम्बन्धित कार्यालय प्रमुख तथा प्रतिनिधिहरुलाई हस्ताणतरण समेत गरिएको छ ।
भवन हस्ताणतरण कार्यक्रममा निर्माण व्यवसायी शम्भुप्रसाद घिमिरेले सबै सरोकारवाला निकायले निर्माणमा सहजीकरण गरेको भएपनि कोभिडको कारणले गर्दा निमार्ण कार्यमा केही ढिलाई भएको बताउनुभयो ।
त्यस्तै, सिद्धिचरण नगरपालिकाका मेयर मोहनकुमार श्रेष्ठले नयाँ भवनको समय समयमा आवश्यक मर्मत सम्भारका लागि सम्बन्धित सरकारको ध्यानाकर्षण गराउन कार्यालय प्रमुखहरुलाई आग्रह गर्नुभयो । धेरै निर्माण व्यवसायीहरुले तोकिएको समय अगावै काम सम्पन्न गरेर बोनस समेत लिने गरेको पाईएको भन्दै उहाँले निर्माण व्यवसायीले यस कुरालाई समेत ध्यानमा राखेर जरिवाना तिर्ने नभई बोनस लिने गरी काम गर्नुपर्ने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले सरकारले ऋण लिएर भवन बनाईएको यो बाध्यकारी अवस्थामा यी भवनहरुबाट प्रभाह गरिने सेवा बढी भन्दा बढी प्रभावकारी, गुणस्तरीय र जनमैत्री भए त्यसको सार्थकता रहने बताउनुभयो ।
हालै निर्माण सम्पन्न भएका जिल्लाका यी ५ सरकारी भवन मध्ये केहि भने यसअघि नै उद्घाटन भएर नयाँ भवनबाटै सेवा दिन थालिएको छ ।