सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीसँग युरोपेली सङ्घका राजदूत नोना डेप्रेजको टोलीले आज शिष्टाचार भेट गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटवार्तामा युरोपेली सङ्घका राजदूतहरूले मुख्यमन्त्री शाहीसमक्ष जलवायु परिवर्तन, खानेपानी, सिँचाइ, नवीकरणीय ऊर्जालगायतका विषयमा मुख्यमन्त्रीसँग छलफल गरेका हुन् ।
‘डेलिगेसन अफ द युरोपियन युनियन टु नेपाल’का राजदूत डिप्रेज नेतृत्वको टोलीले कर्णाली प्रदेशको पर्यटन प्रवद्र्धन, पूर्वाधार, सडक पहुँचसहित सङ्घीयतापश्चात् प्रदेशको विकासबारे चासो राखेका थिए । उनीहरूले कर्णालीको कृषि र शिक्षामा पनि सहयोग गर्ने तयारी भएको जनाएका थिए ।
सो अवसरमा मुख्यमन्त्री शाहीले युरोपियन देशहरूले कर्णालीमा हाल गरिरहेको सहयोग महत्वपूर्ण भएको बताउँदै प्रदेश सरकारले कर्णालीको विकास र समृद्धिका लागि बाटो, बिजुली, वन, बजार, विचार र व्यवस्थापनलाई अघि सारेको बताउनुभयो ।
उहाँले सङ्घीयता कर्णालीजस्ता क्षेत्रका लागि धेरै महत्वपूर्ण रहेको बताउनुभयो । मुख्यमन्त्री शालीले भन्नुभयो, “स्थानीय तह जनताको चुल्होको सरकार हो । यसले जनताका प्रत्यक्ष पीरमर्कामा नजिकै रहेर साथ दिन्छ । जनताका लागि प्रदेश देखिने र सङ्घ सुनिने सरकार हो ।” उहाँले प्रदेश तथा सङ्घका विकास योजनाहरू कार्यान्वयन गर्दा समन्वय र सहकार्य बढ्नुका साथै कार्यान्वयनमा सरलता आउने बताउनुभयो ।
भेटवार्ताको सिलसिलामा राजदूतहरूले कर्णालीमा पर्यटकीय क्षेत्र धेरै रहेको बताउँदै त्यसको विकास र प्रचार–प्रसार आवश्यक रहेको बताएका थिए । उनीहरूले पर्यटकीय क्षेत्रको पूर्वाधार निर्माण र सडक पहुँचमा प्रदेश सरकारले ध्यान दिनु प्रमुख विषय भएका सुझाएका थिए । सो अवसरमा लागि जर्मनीका राजदूत डा थोमास प्रिन्स, नेपालका लागि फ्रान्सका राजदूत गिल्स बोओब्राओ र नेपालका लागि फिनल्याण्डका राजदूत पेर्ती अन्तिनेन र कर्णाली प्रदेश सरकारका प्रमुख सचिव राजकुमार श्रेष्ठको सहभागीता थियो ।