हुमाकान्त पोखरेल
गुल्मी । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले आगामी निर्वाचनमा नेकपा एमालेलाई धुलो चटाउने बताउनुभएकाे छ ।
शनिवार एकीकृत समाजवादीको जिल्लास्तरीय अगुवा कार्यक्रता भेलालाई सम्बोधन गर्दै नेता नेपालले एमालेविरुद्धका सबै शक्ति एक ठाउँमा उभिएर एमालेलाई भारी मतले पराजित गर्ने बताउनुभएकाे हाे।
नेता नेपालले दुई पटकसम्म भएको राष्ट्रियसभा निर्वाचनमा गठबन्ध निर्वाचित भएको र एमालेले पराजय भोगेको स्मरण गराउनुभएकाे थियाे । एमालेमा ‘बा’ प्रवित्ति हावी भएको र त्यसबाट देश र जनताले निकास प्राप्त गर्न नसक्ने भएकाले आफूहरु कलम चिन्ह लिएर एकीकृत समाजवादीको नामबाट नेपाली कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउने बताउनुभयाे ।
गुल्मीको सन्दर्भमा पनि एमाले बाहेकका दलहरुसँग गठबन्ध गरेर निर्वाचनमा जाने सहमति भएको नेपालले जानकारी दिनुभयाे । गुल्मीबाट जितेका केही स्वार्थी नेताहरु केपी ओलीसँग गएर ठिक गरेको नेपालको भनाइ छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै एकीकृत समाजवादीकी सचिव एवम् शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले गुल्मीको लागि रेसुङ्गा नगरपालिकामा सभा हल, सालझण्डी पटौटी सडक लगायतका काम अगाडी बढाएको जानकारी गराउनुभएकाे थियाे ।
निर्वाचनको सन्दर्भमा गुल्मीमा सत्तागठबन्धन नै तालमेल गरेर अगाडि बढ्ने संकल्प गरेको बताउनुभयाे । आफू शहरी विकास मन्त्री भएपछि धेरै पूर्वाधारका काम अगाडि बढाएको र गुल्मीका दुई नगरपालिकामा मात्रै एक अर्ब बजेट विनियोजन गरेको उहाँले बताउनुभयाे ।
कार्यक्रममा जिल्लाका विभिन्न पालिकाहरुबाट झण्डै दुई सय कार्यक्रता नेकपा एसमा प्रवेश गरेको पार्टीका केन्द्रीय सदस्य प्रमेश पोखरेलले जानकारी दिनुभयाे ।