काठमाडौं । नेपाल भ्रमणमा रहनुभएका चिनियाँ विदेशमन्त्री वाङ यीले आइतबार विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गर्नुभएको छ ।
विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, एमाले अध्यक्ष केपी शर्माओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरुसँग भेटवार्ता गर्नुभएको हो ।
भेटवार्तामा नेताहरुले दुई देशबीचको मैत्री सम्बन्धका बारेमा चर्चा गर्दै नेपालको भूमिमा चीन विरोधी गतिविधि हुन नदिने प्रतिवद्धता दोहोर्याएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँगको शिष्टाचार भेटवार्तामा दुई देश बीच युगौँ पुरानो मित्रताका बारेमा छलफल भएको थियो ।
त्यसक्रममा राष्ट्रपति भण्डारीले ऐतिहासिक कालदेखिको नेपाल र चीनबीचको असल सम्बन्ध यस प्रकारका उच्चस्तरका भ्रमणले बहुआयामिक दुई पक्षीय सम्बन्धलाई अझ सुदृढ तुल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले नेपालको सामाजिक–आर्थिक विकासमा चीनले निरन्तर सहयोग गर्दै आएकामा हार्दिक कृतज्ञता समेत व्यक्त गर्नुभयो ।
त्यस्तै एमाले अध्यक्ष ओलीले बेल्ट एण्ड रोड (बीआरआई) अवधारणासँग जोडिएका सडक, रेल, सिँचाइ, शिक्षा र स्वास्थ्यका परियोजनालाई अगाडि बढाउन चीन सरकारलाई आग्रह गर्नुभएको छ ।
शिष्टाचार भेटवार्ताका क्रममा अध्यक्ष ओलीले दुई देशबीचको मैत्री सम्बन्धका बारेमा चर्चा गर्दै नेपालको भूमिमा चीन विरोधी गतिविधि हुन नदिने प्रतिवद्धता दोहोर्याएको एमाले नेता राजन भट्टराईले जानकारी दिनुभयो ।
तातोपानी र रसुवागढी नाकाको नियमित सञ्चालनका लागि समेत एमालेले विदेशमन्त्री वाङसँग आग्रह गरेको छ । एमालेले गरेको आग्रहलाई विदेशमन्त्री वाङले सकारात्मक रुपमा लिँदै नेपालको विकास र समृद्धिका लागि सहयोग गर्न आफूहरु तयार रहेको बताउनुभएको छ ,।
विदेशमन्त्री वाङको भेटवार्तामा सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बेल्ट एण्ड रोड (बीआरआई) अवधारणा अन्तर्गत अगाडि बढाउन लागिएका भौतिक पूर्वाधारसँग जोडिएका परियोजनालाई शीघ्र कार्यान्वयनमा ल्याउन चीन सरकारसँग अनुरोध गर्नुभएको छ ।
नेपालको आर्थिक र सामाजिक विकासका लागि महत्वपूर्ण मानिएका ती आयोजना समयमा अगाडि बढ्दा त्यसले सकारात्मक प्रभाव पर्ने भन्दै अध्यक्ष दाहालले त्यसका लागि पहल गरिदिन चिनियाँ विदेशमन्त्री वाङ यीमार्फत चीन सरकारलाई आग्रह गरिएको माओवादी नेता शक्ति बस्नेतले जानकारी दिनुभयो ।