काठमाडौं । वासु शशी स्मृति परिषदले चार सर्जकलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।
वरिष्ठ कवि एवं नाटककार वासु शशीको ८६औं जन्मजयन्तीको अवसरमा आइतवार वरिष्ठ साहित्यकार शैलेन्द्र साकारलाई २०७८ सालको वासु शशी सम्मान प्रदान गरिएको छ । यसैगरी वरिष्ठ कविहरु राधेश्याम लेकालीलाई २०७७ सालको र मोमिला जोशीलाई २०७८ सालको वासु शशी साहित्य पुरस्कार प्रदान गरिएको छ । दुबै पुरस्कारमा सम्मानपत्र र नगद पच्चिस हजार रहेको छ ।
सोही कार्यक्रममा कथाकार ध्रुव मधिकर्मीलाई कुमार(सरस्वती साहित्य पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के के कर्माचार्यले साहित्यकारहरु साकार, लेकाली, मोमिला र मधिकर्मीलाई सम्मान र पुरस्कार प्रदान गर्नुभएको थियो ।
सोही अवसरमा साहित्यिक पत्रिका शारदाको वासु शशी स्मृति विशेषाङ्कुको विमोचन गरिएको थियो ।
सम्मानित व्यक्तित्व साकार विगत पाँच दशकदेखि कविता, कथा सम्पादन लेखनमा सक्रिय हुनुहुन्छ । उहाँको एक दर्जन साहित्यिक पुस्तक प्रकाशित छन् ।
विगत चार दशक बढी समयदेखि सक्रिय साहित्यकार लेकालीको कविता, मुक्तक र सम्पादनसहित डेढ दर्जन साहित्यिक पुस्तकहरु प्रकाशित छन् ।
बितेको साढे तीन दशकदेखि नेपाली भाषा साहित्यमा क्रियाशील निबन्धकार मोमिलाको कविता, निबन्ध सम्पादनसहित एक दर्जन साहित्यिक पुस्तक प्रकाशित छन् ।
विगत साढे चार दशकदेखि सक्रिय साहित्यकार मधिकर्मीको कथा, लघुकथा, कविता, सम्पादन सहित एक दर्जन भन्दा बढी साहित्यिक कृतिहरु प्रकाशित छन्।
परिषद्का अध्यक्ष गणेश रसिकको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम वरिष्ठ साहित्यकार गोविन्द गिरि प्रेरणाले वरिष्ठ कवि एवं नाटककार वासु शशी र प्रा डा कुमारबहादुर जोशीको परिचय राख्नुभएको थियो ।