शम्भुजीत दाहाल
झापा । बिर्तामोडको एउटा पसलमा राजश्व अनुसन्धान कार्यालय इटहरीले सिल गरेपछि स्थानीय व्यवसायीले गरेको असहयोगका कारण राजश्व कार्यालय थप आक्रामक भएको छ । बिर्तामोडको एउटा कपडा गोदाममा गएराति राजश्वले छापा मारेर गोदाम सिल गरेको छ ।
स्थानीयहरुले दिएको सूचनाको आधारमा बिर्तामोड नगरपालिका ३ स्थित स्वागत चोकको दिपेन्द्र आचार्यको घरमा व्यवसायीले भाडामा सञ्चालन गरेको गोदाममा राजश्व कार्यालयले छापा मारेर सिल गरेको राजश्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख तीर्थराज खनालले बताउनुभयाे ।
‘राजश्व अनुसन्धानको क्रममा बिर्तामोडका केही व्यवसायीहरुको कारोबार शंकास्पद देखिएपछि हामीले छापा मारेर गोदाम सिल गरेका छौं,’ प्रमुख खनालले भन्नुभयो, ‘हाम्रो काम नै अनुसन्धान गर्ने हो, अनुसन्धान प्रक्रियामा हामी कानूनले दिएको अधिकार प्रयोग गर्छौं ।’
‘बिर्तामोडका व्यवसायीहरुको दादागिरिका कारण आम मानिसले दुःख पाए तर हामीले अनुसन्धान प्रक्रियालाई जारी राखेका छौं,’ उहाँले भन्नुभयो, ‘दुई चार मान्छे उफ्रिदैमा राज्यले आफ्नो नियमित काम गर्न छोड्दैन ।’
‘सही ढंगले काम गरेका व्यवशायीले हामीसँग अप्ठ्यारो मान्नु पर्ने कुनै काम छैन,’ खनालले भन्नुभयो, ‘जसले गलत गर्छ उसैले अवरोध सिर्जना गर्ने हो । हामीले कानून अनुसारको अधिकार प्रयोग गरेर अनुसन्धानको काम गर्ने हो, हामी व्यवसायीले भने जसरी काम गर्न सक्दैनौं ।’
अनुसन्धान कार्यालयका प्रमुख खनालका अनुसार बिहीवार दिउँसो सिल गरिएको बिर्तामोडको शाह कपडा पसलको कानूनी कारबाहीको प्रक्रिया अगाडि बढेको छ भने मध्यराति छापा मारेर सिल गरिएको कपडा गोदाम आफ्नो हो भन्दै अहिलेसम्म कोही दाबी गर्न आएका छैनन् ।
यसअघि बिहिबार राजश्व अनुसन्धान कार्यालय इटहरीको टोलीले बिर्तामोडको शाह कपडा पसलमा सिल गरेपछि त्यसको विरुद्धमा विर्तामोड उद्योग वाणिज्य संघका पदाधिकारीहरु नै सडक बन्द गर्न सक्रिय भएका थिए । बिहीवार दिउँसो करिब तीन घण्टा बिर्तामोड तनावग्रस्त हुँदा हजारौं यात्रु र अन्य व्यक्तिहरुले सास्ती व्यहोर्नु परेको थियो।