काठमाडाैं । नेपाल आदिवासी जनजाती महासंघले आदीवासी-जनजातीको बासस्थानको संरक्षण गर्न सरकारकाे ध्यानाकर्षण गरेकाे छ ।
शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विकासका नाममा आदीवासी जनजातीको थातथलो भताभुङ्ग पार्ने काम भइरहेको भन्दै महासंघले आदीवासी, जनजातीको बासस्थानको संरक्षण गर्न सरकारसँग माग गरेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष बुद्ध घर्तीले सरकारी वा निजी क्षेत्रले शुरु गर्ने नयाँ आयोजनाहरु आरम्भ गर्नुपूर्व सम्बन्धित क्षेत्रका समुदायले पूर्व सूसुचित हुन पाउनुपर्ने बताउनुभयो ।
उहाँले स्थानीय र प्रदेश सरकारबाट आदीवासी जनजातीका नाममा विनियोजित बजेट अन्य शीर्षकमा खर्च गरेको प्रति समेत आपत्ति जनाउनुभयो । उहाँले आदीवासी र जनजातीको विकासका लागि छुट्याइएको बजेट सदुपयोग गर्न सरकारसँग माग गर्नुभयो ।
त्यस्तै, उहाँले आदीवासी जनजातीको उत्थान, सशक्तिकरण तथा आफ्नो मौलिक भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षण प्रवर्द्धनको लागि विशेष कार्ययोजना ल्याइने जनाउनुभयो । वरिष्ठ उपाध्यक्ष घर्तीले अल्पसंख्यक, लोपोन्मुख, सिमान्तकृत आदिवासी जनजातीको संरक्षण, सांस्कृतिक प्रवर्द्धन र राज्यका विभिन्न निकायमा समावेशी प्रतिनिधित्वका लागि विशेष पहल गरिने पनि बताउनुभयो ।
त्यस्तै कार्यक्रमा महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले सबै नेपालीले समान अवसर पाउनुपर्ने महासंघको माग रहेको बताउनु भयो । उहाँले सबैले सबैको अस्तित्व स्वीर्कानुपर्ने भन्दै सबैले सबैको सम्मान गर्ने बलियो समाजको आधारस्तम्भ निर्माण गर्न आवश्यक रहेको बताउनु भयो ।
अध्यक्ष शेर्पाले भन्नुभयो, ‘जनजाती महासंघको माग के छ भने हामी सबै एउटा साझा फूलबारीको फूल हौँ । हामीले समान अवसर पाउनुपर्छ । समान मलजल पाउनुपर्छ । समान तरिकाले फुल्न पाउनुपर्छ भन्ने हो । सबैले सबैको अस्तित्व पनि स्वीकार्नुपर्छ । सबैले सबैको सम्मान गर्ने बलियो समाजको आधार स्तम्भ निर्माण गर्नुपर्छ । म अब मेरो कार्यकालमा परिणाममुखी काम ल्याउँछु ।’
अध्यक्ष शेर्पाले आफ्नो कार्यकालमा परिणाममुखी काम गरेर देखाउने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो ।