लमजुङ । लमजुङमा १७ वटा मतदान केन्द्र थपिएका छन् ।
निर्वाचन आयोगले जारी गरेको मतदाता एवं मतदानस्थल विवरणअनुसार जिल्लामा साविककै मतदान स्थलमा थप १७ वटा मतदान केन्द्र कायम भएको हो ।
सरकारले आगामी ३० वैशाख स्थानीय तह निर्वाचन घोषणा गरेसँगै जिल्लाबाट एकसय २३ मतदानस्थल र एक सय ८७ मतदान केन्द्र पनि सिफारिस भएको थियो । मतदाता संख्याको आधारमा केन्द्र कायम हुनेगरी सिफारिस गरिए पनि निर्वाचन आयोगले भने १ सय ८२ मतदान केन्द्र कायम गरी पठाएको निर्वाचन कार्यालय लमजुङकी प्रमुख सिर्जना मिश्रले बताइन् ।
आगामी स्थानीय तह निर्वाचनका लागि विभिन्न स्थानीय तहमा गरी एकसय २३ मतदान स्थलमा एक सय ८२ मतदान केन्द्र कायम भएको हो । यसअघि २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा जिल्लामा सोही मतदानस्थलमा १ सय ६५ मतदान केन्द्र कायम भएको थियो । सोही वर्ष भएको स्थानीय तह निर्वाचनमा भने १ सय २३ मतदान स्थलमा १ सय ५५ मतदान केन्द्र रहेका थिए ।
जिल्लामा कायम भएका मतदानस्थल र केन्द्रमध्ये सबैभन्दा धेरै बेसीसहरमा छन् । बेसीसहरमा मात्रै २१ मतदान स्थलमा ३५ मतदान केन्द्र कायम भएको छ । त्यसैगरी मर्स्याङदी गाउँपालिकामा भने २० वटा मतदानस्थलमा २४ वटा मतदान केन्द्र कायम भएको पाइएको छ ।
मध्यनेपाल नगरपालिकामा १८ वटा मतदानस्थलमा २६ वटा मतदान केन्द्र कायम भएको छ भने सुन्दरबजार नगरपालिकामा १६ वटा मतदानस्थलमा २९ वटा मतदान केन्द्र कायम भएको छ । त्यसैगरी जिल्लाको राईनास नगरपालिकाम १२ वटा मतदानस्थलमा २० वटा मतदान केन्द्र कायम भएको छ भने दूधपोखरी र क्होलासोँथार गाउँपालिकामा १०र१० वटा मतदानस्थल कायम भएका छन् ।
दूधपोखरीमा मतदान केन्द्र १२ वटा कायम भएको छ भने क्होलासोँथारमा १३ वटा मतदान केन्द्र कायम भएका छन् । दोर्दी गाउँपालिकामा भने १६ वटा मतदानस्थलमा २३ वटा मतदान केन्द्र कायम भएको निर्वाचन कार्यालय लमजुङले जनाएको छ ।