चितवन । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बुधबार गृह जिल्ला चितवन जानुहुने भएको छ ।
पछिल्लो १३ दिनको अवधिमा दाहाल तेस्रो पटक गृह जिल्ला जान लाग्नुभएको हो ।
स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा गृह जिल्लामा उहाँको आगमन बढेको मात्रै छैन, योजनाहरुको शिलान्यास, उद्घाटन र पार्टीका कार्यक्रममा समेत भ्याइनभ्याइ छ । बुधवार पनि उहाँले भरतपुर महानगरपालिका(२ आँपटारीमा भूमिहीन दलितलाई लालपुर्जा बाँड्ने कार्यक्रम रहेको छ ।
लालपुर्जा बाँड्ने काम सुकुमबासी आयोगको भए पनि मतदातालाई रिझाउन दाहालले लालपुर्जा बाँड्न लाग्नुभएको हो । सुकुमबासी आयोगको जिल्ला अध्यक्ष बद्री तिमिल्सिना माओवादी केन्द्रकै हुनुहुन्छ । भरतपुर–२ निर्वाचन क्षेत्र नम्बर २ मा पर्छ । यहाँबाट नेकपा एमालेका कृष्णभक्त पोखरेल संघीय सांसदमा निर्वाचित हुनुभएको छ ।
चुनावमा मुखमा योजनाको धमाधम शिलान्यास, उद्घाटन गर्ने र लालपुर्जा बाँड्ने कार्यलाई मतदातालाई आकर्षित गर्ने रणनीतिका रुपमा लिइएको छ । एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले चुनावको मुखमा दाहालले चुनावी स्टन्ट देखाउने काम मात्रै गरेको भन्दै यसलाई जनताले राम्रोसँग बुझेको बताउनुभयो ।
स्थानीय तहको चुनावमा सत्ता गठबन्धनबीच तालमेल गर्ने भनिएपनि भरतपुर महानगरमा त्यति सहज देखिँदैन । महानगरको मेयरमा माओवादी केन्द्र र नेपाली कांग्रेसले आ–आफ्नो दाबी गर्दै आएका छन् ।
निर्वाचन आचारसंहिता लागू भएपछि योजनाको शिलान्यास तथा उद्घाटन गर्न नपाइने भएकाले पनि दाहालले अहिले नै धमाधम शिलान्यास र उद्घाटन गर्दै हिड्नुभएको हो ।