नेपाल श्रीलंका जस्तो हालतमा पुग्दैन | हाम्रो कृषि तथा जहाँ भएपनि अधिकांश नागरिकको जग्गा भएको अवस्था छ ।उपाय नलागे खनखोरस गरेर भएपनि जीविका चलाउने हाम्रो उपाय छ | आन्तरिक उत्पादनको प्रभावकारी वितरण भए धेरै कुरा आयात गर्नु पर्दैन ।
डा रवीन्द्र पाण्डे
श्रीलंकाको अर्थतन्त्र डामाडोल भएपछि हामी सतर्क, सचेत र योजनासहित अघि बढ्नु पर्नेमा यो विषयलाई अग्रिम पीडाको विषय बनाइएको छ | चिन्ता गर्नुपर्ने नेता तथा ब्युरोक्रयाट निश्चिन्त बसेका छन्, मानौं केही भएको छैन | आफ्नो काम गरेर खाने हामी नागरिक अत्यधिक चिन्तामा पुगेका छौं |
भूकम्प, नाकाबन्दी, कोरोना महामारी, एमसीसी हुँदै चिन्ता गर्ने पालो अर्थतन्त्रको आएको छ | मिडियामा आउने अतिशयोक्तिपूर्ण समाचारले आम जनतामा असुरक्षा बढेको छ | तसर्थ सरकारले अर्थतन्त्रका हरेक अवयव जनताले बुझ्ने गरी समयसमयमा सम्प्रेषण गरिरहनु पर्दछ |
१. नेपाल श्रीलंका जस्तो हालतमा पुग्दैन | हाम्रो कृषि तथा जहाँ भएपनि अधिकांश नागरिकको जग्गा भएको अवस्था छ ।उपाय नलागे खनखोरस गरेर भएपनि जीविका चलाउने हाम्रो उपाय छ | आन्तरिक उत्पादनको प्रभावकारी वितरण भए धेरै कुरा आयात गर्नु पर्दैन ।
२. श्रीलंका जस्तो पर्यटनमा पुरै आश्रित देश नेपाल हाेइन | रेमिट्यान्स, कृषि तथा पशुपंक्षी पालन, कलकारखाना आदिमा समेत हाम्रो अर्थतन्त्रका टेवा हुन् ।
३. श्रीलंकाको जस्तो ठूलो ऋण हाम्रो छैन | उसले जति हामीले ब्याज तथा किस्ता तिर्नुपर्ने दबाब छैन ।
४. एमसीसी फेल गरेको कारण एकातर्फ पश्चिमा सहयोग श्रीलंकाले पाएको छैन भने अर्कोतर्फ जसको कारण एमसीसी पास नगरेको हो, त्यही देशको खर्बौं ऋणमा श्रीलंका डुबेको छ | हामी कहाँ त्यो स्थिति पनि छैन ।
५. हाम्रो मुद्रा भारतीय मुद्रासँग टाइ अप भएको हुँदा भारु तथा डलरसँग तत्कालै नेपाली मुद्राको अबमूल्यन हुँदैन ।
६. भारतको अर्थतन्त्र बलियो हुनु तथा खुला सीमा भएको कारण अत्यावश्यक सामग्रीको त्यहाँ जस्तो अभाव हुँदैन ।
७. त्यहाँजस्तो यहाँ आतंकबादी हमलाको असुरक्षा छैन, तसर्थ पर्यटनले लय लिनसक्छ ।
८. हामीकहाँ डिजेल, पेट्रोल, मट्टीतेल, ग्यासको अधिक प्रयोग हुने ठूला उद्योग छैनन् । विद्युत उत्पादन बढिरहेको हुँदा ग्यास तथा मट्टीतेलको प्रयोगलाई विद्युतीय चुल्होमा प्रयोग गर्न सकिन्छ ।
सरकारले तुरुन्तै यी काम गरे अर्थतन्त्र बच्नेछ :
१. पेट्रोलियम खपत घटाउन तुरुन्तै कडा कदम चाल्नुपर्दछ । जोरबिजोर, २ दिन बिदा, कार्यालयमा थोरै सवारीसाधनमा धेरै कर्मचारी बोक्ने, स्कुल भर्ना आफ्नै क्षेत्रमा गर्नुपर्ने, विद्युतीय सार्वजनिक साधनको बढोत्तरी, इन्डक्सन चुल्हो लगायत सुपथ मूल्यमा वितरण, साइकल तथा विद्युतीय कारको प्रायो आदि ।
२. हुण्डी तथा क्रिप्टोकरेन्सीमा प्रतिबन्ध, रेमिट्यान्स पठाउँदा थप सुबिधा, NRN लगायतलाई शेयर तथा अन्य लगानीमा प्रोत्साहन, पर्यटन विकासका लागि प्रचारप्रसार आदि गर्नुपर्दछ ।
३. नेपालमा सम्भव हुने उत्पादनको आयात बन्द गर्नुपर्दछ । त्यस्तै विलासिताका सामानको आयात पूर्ण बन्द गर्नुपर्दछ । यसो गर्दा सरकार ठूला व्यापारीको प्रभाव र दबाबबाट मुक्त हुन सक्नुपर्छ ।
४. निर्यात गर्नसक्ने उत्पादनको पहिचान गरेर नेपाली उत्पादनको विश्वबजार बढाउनु पर्दछ । महंगी नियन्त्रण गर्नुपर्दछ।
५. राजनीतिक नियुक्ति, तिनै सरकारको फजुल खर्च, भ्रष्ट्राचार नियन्त्रण, अनावश्यक संरचना निर्माण, सवारीसाधन खरिद, अनावश्यक भत्ता आदि नियन्त्रण गर्नुपर्दछ ।
६. अर्थतन्त्रको विज्ञ टोलीले अर्थ मन्त्रालयको नेतृत्व गर्नुपर्दछ । दातासँग निरन्तर परामर्शमा रहेर अर्थतन्त्र बलियो बनाउँदै लैजानुपर्दछ ।