काठमाडौँ । सरकारका मुख्य सचिव शंकरदास बैरागीले अब संघीयताको मूल्याङ्कन आवश्यक रहेको बताउनुभएको छ । काठमाडौँ स्थित तराई विकाश तथा सञ्चार केन्द्रले आयोजना गरेको शुसासन प्रत्याभुतका निम्ति सूचना प्रविधिको प्रयोग र यसका चुनौती विषयक अन्तर्क्रिया तथा संघीयतामा नेपालको सार्वजनिक विषयक पुस्तक लोर्कापर्ण कार्यक्रममा उहाँले उक्त कुरा बताउनुभएको हो ।
कार्यक्रममा बोल्दै उहाँले संघीयता नेपालको लागि नयाँ विषय भएको तर अहिले संघीयताको उपलब्धीबारे मूल्याङ्कन गर्न अत्यन्त आवश्यक रहेको बताउनुभयो ।
उहाँले सूचना प्रविधिको बारेमा बोल्दै अहिले सूचना प्रविधिको युग भएको हुँदा प्रविधि मैत्री प्रशासनमा जोड दिँदै साइवर सुरक्षामा समेत विशेष जोड दिन आग्रह गर्नुभयो । साथै उहाँले सरकारले आउदो बैशाखबाटै एकीकृत सूचना प्रणाली सञ्चालनमा आउने जानकारी दिनुभयो ।
उहाँले विश्व जगतसँग नेपालमा प्रयोगमा रहेको सूचना प्रविधिको तुलना गर्दा स्थिति लज्जास्पद रहेको स्वीकार गर्नुभयो ।
मुख्य सचिव बैरागीले हाल नेपाल प्रविधितर्फ उन्नमुख रहेको बताउदै क्यासलेस, फेसलेस र पेपरलेस प्रविधि नेपालको भविष्य रहेको उल्लेख गर्नुभयो ।
सचिव बैरागीले नेपालीको आर्थिक रुपान्तरणमा जोड दिदै आर्थिक समृद्धिविना नेपालीले ईज्जत प्राप्त गर्न नसक्ने बताउनुभयो । पुस्तकको बारेमा बोल्दै मुख्य सचिव बैरागीले पुस्तकमा निकै अब्बल र अग्रज प्रशासकले लेखेको सामग्री समावेश भएको हुदा पठनीय रहेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले पुस्तक प्रकाशन तथा सम्प्रेषण गर्नुभएकोमा प्रकाशकलाई धन्यवाद दिँदै प्रकाशन निरन्तरताको अपेक्षा रहेको बताउनुभयो । उहाँले ताप्लेजुङ्गका शिक्षकको सरुवा तथा नियुक्ति काठमाडौँमा हुने ब्यवस्था संघीयता नभएको बताउनुभयो ।
सूचना प्रविधिको बारेमा बोल्दै आयुक्त थपलियाले अहिले आयोगले प्रविधिको प्रयोगमार्फत भोट हाल्ने स्थानको बाटो समेत देखाउने गरी जिपिएस प्रविधिमार्फत काम भई रहेको बताउनुभयो । उहाँले अहिले आयोग सामाजिक सञ्जाल मार्फत हुने निर्वाचन आचारसंहिता उल्लंघन हुने तर्फ चिन्तित रहेको बताउनुभयो । साथै आयुक्त थपलियाले मतदाता नाम दर्ताको आंशिक कार्य अनलाईन मार्फत गर्ने कार्यको सुरुवात गर्न आयोग तयारी अपस्थामा रहेको बताउनुभयो ।
कार्यक्रममा रक्षा सचिव किरण राज शर्माले पुस्तकमाथि समिक्षा गर्दै ब्यक्तिगत रुपमा भएपनस सम्पादक गोविन्दप्रसाद चौलागाईँले पुस्तक बिक्रीको ३० प्रतिशत विपन्न विद्यार्थीका लागि छुट्टयाउने कार्य उत्कृष्ट उदाहरण रहेको उल्लेख गर्नुभयो ।
सचिव शर्माले शुसासनको आजको आवश्यकतामा सरकारसहित अन्य निकाय समेत आवश्यक रहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा लोकसेवा आयोगका पुर्व अध्यक्ष उमेश मैनालीले संघीयता राज्यशक्ति बाँडफाँडको विशेष व्यवस्था भएको हुँदा यो सफल बनाउन यसको संवाहक शक्तिहरु समेत बफादार हुनु पर्नेमा जोड दिनुभयो । उहाँले संघीयतालाई नाराको रुपमा सिमित राख्न मात्र नभएर राजनेताले स्विकारेमा मात्र सफल हुने उल्लेख गर्नुभयो । उहाँले संघीयता भित्र पहिचान, अधिकार तथा राष्ट्रियता समेत हुने हुँदा यसलाई सफल पार्न सबै राजनीतिक शक्ति क्रियाशील हुन आवश्यक रहेको कुरा औल्याउनुभयो ।
कार्यक्रममा प्रमुख महालेखा परीक्षक टंकमणि शर्माले सम्पूर्ण प्रशासकलाई लेख रचनातर्फ अग्रसर भएको देख्दा खुशी लागेको बताउँदै निरन्तरताको शुभकामना दिनुभयो । साथै पुस्तक प्रकाशकप्रति यस्ता कृति प्रकाशनमा निरन्तरता रहने अपेक्षासहित शुभकामना दिनुभयो ।
कार्यक्रममा बोल्दै पूर्व मुख्यसचिव विमल कोईरालाले समय अन्तरालमा प्रशासन क्षेत्र निकै फितलो भएको उल्लेख गर्नुभयो । उहाँले व्यवस्था परिर्वतन हुँदा कार्यलयको वोर्ड मात्र परिर्वतन भएको तर अरु केही परिर्वतन हुन नसकेको बिडम्बना आफूले भोगेको जानकारी दिनुभयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्याम भण्डारीले आयोगले प्रबिधिको प्रयोग मार्फत विभिन्न ५ वटा कार्य गर्दै आएको उल्लेख गर्नुभयो । उहाँले आयोगले प्रविधिको प्रयोग मार्फत उजुरी लिने कार्य, उजुरी छानबीनको कार्य, सूचना सम्प्रेषणको कार्य, जिपिएसको प्रयोग, कार्यालय व्यवस्थापन इ हाजिर मिटिङ्ग लगायतका कार्यगर्दै आएको उल्लेख गर्नुभयो ।
दूरसञ्चार प्राधिकरणका वोर्ड सदस्य चन्द्रमणि चौलागाईले सूचना प्रविधिको प्रयोगबाट सुशासनसहित आर्थिक उर्पाजन समेत हुने तथ्यको उजागर गर्नुभयो ।
कार्यक्रममा सूचना प्रविधि र सुशासनबारे बिधान शर्माले आफ्नो धारणा राख्नुभयो । उहाँले सूचना प्रविधिको प्रयोग विस्तार भन्नाले उपकरण भन्दा पनि सेवा दिने प्रक्रियाको परिर्वतन भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा पुस्तकका सम्पादक गोविन्द चौलागाईले उक्त पुस्तकलाई पूरा गर्न कोभिड जस्तो विषम् समयमा समेत आफ्नो कार्य सँगसँगै लेख लेखेर सहयोग गर्नुहुने सम्पूर्ण लेखकलाई धन्यवाद व्यक्त गर्दै आभार प्रकट गर्नुभयो ।
कार्यक्रममा महामारीमा आफ्नो तोकिएको जिम्मेवारी पुरा गर्दै त्यस्को अलावा काठमाडौँ, ललितपुर, भक्तपुर र रौतहटका धेरै पीडितहरुलाई सहयोग गर्ने हाम्रो अभियानमा जोडिनुभएका नेपाल सरकारका सहसचिव प्रकाश पौडेल, नेपाल सरकार सहसचिव केदारनाथ शर्मा, नेपाल सरकार सहसचिव पार्वती शर्मा काफ्ले तथा पूर्व सचिव जनकराज दाहाललाई मुख्य सचिव शंकरदास बैरागी, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, प्रमुख महालेखा परीक्षक टंकमणि शर्मा, पूर्व लोकसेवा अध्यक्ष उमेश मैनाली, पूर्व मुख्यसचिव विमल कोईरालाले संयुक्त रपमा प्रशंसा पत्रसहित धन्यवाद ज्ञापन गर्नु भएको थियो ।