फाइल तस्वीर
कास्की । कोरोना महामारीबाट सिथिल बनेको पर्यटन प्रवर्द्धन गर्न बैशाख १ गते १७ औँ फेवा नववर्ष सडक महोत्सव हुने भएको छ । नेपाली संस्कृतिको संरक्षण र खानाको प्रबद्र्धन गर्ने उद्देश्यले ‘पर्यटन,संस्कृति र खाना’ भन्ने नाराका साथ चैत ३० गते देखि बैशाख १ गतेसम्म १७ औँ फेवा नव वर्ष सडक महोत्सव हुने भएको हो ।
कोरोना महामारीको कारण दुई वर्ष रोकिएको सडक महोत्सव पोखराको पर्यटन पुनराेत्थानका लागि सडक महोत्सन.व गर्न लागेको होटल संघ पोखराका अध्यक्ष तथा महोत्सवका संयोजक लक्ष्मण सुवेदीले बताउनुभयो ।
उहाँले पछिल्लो समय नेपाली नयाँ वर्ष पनि उत्साहका साथ मनाउन थालिएकाले पोखरा सडक महोत्सवमा १ लाख भन्दा बढी आन्तरिक पर्यटन आउने अनुमान रहेको बताउनुभयो । संयोजक सुवेदीले महोत्सवमा ३५ लाख खर्च हुने बताउनुभयो ।
उहाँले भन्नुभयो,‘पछिल्लो समय नेपाली नयाँ वर्ष मनाउने प्रचलन बढेकाले आन्तरिक पर्यटक नै १७ औं फेवा नव वर्ष महोत्सवमा १ लाख भन्दा बढी कट्ने अनुमान लगाएका छौं । कारोबारको हिसाबमा व्यापार भन्दा पनि पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य रहेको छ । संस्थाले घाटा नै खाएर महोत्सव भए पनि ३५ लाख रुपैयाँ खर्च हुन्छ । ३० लाख रुपैयाँ उठि सकेको छ । बाँकी ५ लाख घाटा रहेको छ । पोखराको सबै होटल गरेर पर्यटकको लागि बेड क्षमता ४० हजार रहेका छन् । अहिले थेग्न सक्ने अवस्थामा छौं ।’
त्यस्तै, होटल संघ नेपालमा वरिष्ठ उपाध्यक्ष विनायक शाहले कोरोना महामारीको कारण शिथिल बनेको पर्यटन प्रवर्द्धन गर्न सरकारले बजेट मार्फत केही नीति ल्याए पनि कार्यान्वयन. नगरेको बताउनुभयो । सरकारले नीति ल्याउने तर काम नगर्ने भएकाले पर्यटन व्यवसायीहरु आफै पोखराको पर्यटन प्रवर्द्धन गर्न पोखरा सडक महोत्सव गर्न लागिएको शाहले बताउनु भयो । उहाँले पछिल्लो समय नेपालमा भारत लगायत अन्य देशका पर्यटन बढ्दै गएको बताउनुभयो ।
महोत्सवमा विभिन्न प्रकारका खानाका परिकार, विभिन्न सांस्कति झाँकी प्रस्तुती, ख्याती प्राप्त कलाकार प्रस्तुति र हास्यव्यग्य समेत हुने जनाइएकाे छ ।