राज दयाल
ओखलढुगा । जिल्लाबाट निर्वाचित महिला जनप्रतिनिधिहरुले आफूहरु निर्णायक तहमा पुग्न नसक्नुको मुख्य कारण नै पारिवारिक समस्या र हेपाहा प्रवृति रहेको बताएका छन् । नागरिक समाजको संस्था सोच नेपालले आज (शुक्रबार) सदरमुकाममा आयोजना गरेको ‘स्थानीय सरकारमा महिलाको सहभागीता र चुनौती विषयक अन्तरक्रिया’ कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।
स्थानीय तहमा महिलाको सहभागीता संविधानले नै सुनिश्चित गरेको भएपनि कतिपय अवस्थामा परिवारबाटै सहयोग नमिल्दा आफूहरुलाई निकै चुनौती रहेको उनीहरुको भनाइ छ । कार्यक्रममा सिद्धिचरण नगरपालिका ४ की दलित महिला वडा सदस्य रस्मी परियारले निर्वाचित भइसकेपछि पनि विपक्षी दलका ब्यक्तिले समेत निकै ठूलो पद पाएछौँ भन्ने जस्ता शब्दहरु प्रयोग गर्दै आफूलाई गिराउन खोजेको बताउनुभयो ।
जनप्रतिनिधि भएर काम गरिरँहदा आफन्तबाटै विदेशमा रहेका श्रीमानलाई नचाहिने कुराहरु सुनाई दिएर श्रीमानले फोन गर्दै कि मलाई छोड कि राजनीति छोड भन्ने समेत अवस्था आएको उहाँले बताउनुभयो । एक त महिला त्यसमाथि पनि दलित भएर जनप्रतिनिधिको भूमिका निर्वाह गरिरँहदा पारिवारदेखि लिएर समाजमै निकै ठूलो चुनौती रहेको परियारको भनाइ छ ।
तर पनि आफूले पूरा गर्नुपर्ने जिम्मेवारीबाट भने आफू कहिल्यै पछि नहटेको परियारले बताउनुभयो । मोलुङ गाउँपालिका १ की वडा सदस्य खड्गमाया श्रेष्ठले २०७४ को निर्वाचनमा आफूले टिकट पाउँदा छिमेकीले नै श्रीमानलाई ‘ए फलानो अब तँ घरमा भात पकाएर, घाँस काटेर बस श्रीमतीलाई चाहिँ नेता बनाएर हिड’ भन्दै खसालेको बताउनुभयो।
पदमा रहिरहँदा पनि बारम्बार यी र यस्ता खाले व्यबहारले आफूलाई पद नै छाडौ की जस्तो भएको उहाँले बताउनुभयो। महिलाहरु घरकै काममा सिमित हुनुपर्छ भन्ने जस्ता सोच परिवर्तण नहुँदासम्म आफूहरुलाई निर्णायक तहमा पुग्न चुनौती नै चुनौती रहेको उहाँको भनाइ छ ।
जिल्ला समन्वय समिति सदस्य सुन्तला परियारले खबरदारी गर्ने कोही नहुँदा महिला र दलितलाई प्रयोग गरेरै कतिपय राजनीतिक दल उच्च ओहदामा पुग्ने गरेको बताउनुभयो । संविधानले नै बाध्य बनाएका कारण हिजो मान्छे नहुँदा दलित र महिलालाई टिपेर ल्याउने र आज केही गर्न सक्षम हुँदा पछाडि हटाउन खोजिएको समेत आफूहरुले महसुस गरेको उहाँले बताउनुभयो । निर्णायक तहमा महिला र दलित नहुँदासम्म उनीहरुको न्याय कहिल्यै नहुने उहाँको भनाइ छ।
कार्यक्रममा उपस्थित निर्वाचित महिला जनप्रतिनिधिहरुले झन्डै ५ वर्षको कार्यकाल आफूहरुका लागि सिकाईमै बितेको भन्दै अब फेरि स्थान पाए जिम्मेवारी बहन गर्न आफूहरु सक्षम भएको बताएका थिए ।