काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर निर्लज्जता प्रकट गरेको बताउनुभएको छ ।
अर्थमन्त्री जनार्दन शर्माप्रति संकेत गर्दै अध्यक्ष ओलीले अनुहारभरी रौं भएको मुसोले अर्थतन्त्र वर्वाद पारे पनि एउटा सोझो भ्यागुतो जस्तो गभर्नरलाई सरकारले कारबाही गरेर निर्लज्जता प्रकट गरेको बताउनुभएको हो ।
शनिवार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले अर्थतन्त्र जोगाउन प्रयास गरिरहेको गभर्नरलाई, अर्थतन्त्र बुझेका मान्छे अधिकारीलाई सरकारले गभर्नरबाट निलम्बन गरेर बलियो बोको बनाउने काम गरेको आरोप समेत लगाउनुभयो । उनलाई निलम्बन गरेर सरकारले माओवादी केन्द्रको भनेर चिनिएका न्यायाधीशको नेतृत्वमा छानवीन समिति बनाएको भन्दै ओलीले आपत्ति पनि जनाउनुभयो ।
त्यसैगरी, अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धमा ज्यान धरापमा पारेर हिँडेकाहरुलाई अनादर र उपेक्षा गर्दै आफ्नै भाइ नारायणप्रसाद दाहाललाई राष्ट्रियसभा सदस्य बनाउने काम गरेर नातावाद र कृपावादको चरम नमुना प्रस्तुत गरेको दाबी गर्नुभयो ।
उहाँले क्रान्तिकारी हुँ भन्नेहरुले आफू र आफन्तबाहेक अरुलाई नहेर्ने गरेको यो पछिल्लो उदाहरण भएको अध्यक्ष ओलीको भनाइ थियो ।
अध्यक्ष ओलीले निर्वाचन आयोगले निर्वाचन आचारसंहिता जारी गर्ने बेला आफ्नो पार्टीलाई थर्काएको आरोप समेत लगाउनुभयो । सत्तापक्षसँग मात्रै परामर्श गरेर जारी गरिएको निर्वाचन आचारसंहिता हस्ताक्षर गर्ने बेला आयोगले आफ्नो पार्टीका प्रतिनिधिहरुलाई हस्ताक्षर नगरे नगर्नुस् भनेर थर्काएको उहाँको गुनासो थियो ।
नेपालको इतिहासमा पहिलो पटक निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपक्ष दलहरुसँग परामर्श नगरी जारी गरेको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नु भयो । निर्वाचन आयोगले अनुरोध गरेर निर्वाचन सम्पन्न गर्नुपर्नेमा कारबाहीको डण्डाको पो देखाउने गरेको अध्यक्ष ओलीले बताउनुभयो ।
अध्यक्ष ओलीले आफ्नो दलसँग परामर्श नगरी निर्वाचन आचारसंहिता जारी भएपनि त्यसको पूर्ण पालना गर्न आफ्नो पार्टी प्रतिवद्ध रहेको बताउनुभयो ।