काठमाडाैं । गृहमन्त्री बालकृष्ण खाँणले बेरुजु फर्छ्याेट उत्कृष्टता हासिल हुनेगरी मिहिनेत गर्न नेपाल सरकारका सबै निकायलाई आह्वान गर्नु भएको छ ।
गृहमन्त्री खाँणले बेरुजु फर्छ्याेटमा गम्भीर हुन र सबै आय, व्ययलाई दुरुस्त गर्न पनि सम्बन्धित सबै निकायलाई सचेत गराउनुभयो ।
सशस्र प्रहरी बल, नेपालका महानिरीक्षक शैलेन्द्र खनालको विदाईमा सोमबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले पूँजीगत खर्च गर्न नसकेर बजेटनै ल्याप्स हुने अवस्था आउन नदिन पनि सबै सरकारी निकायलाई आग्रह गर्नुभयो ।
उहाँले पूँजीगत खर्चको व्यवस्थापन गर्दै जनतालाई प्रतिफल दिनेगरी विकास, निर्माणको काममा तीव्रता दिन जरुरी रहेको पनि बताउनु भयो । गृहमन्त्री खाँणले भन्नु भयो, ‘नेपाल सरकारका समग्र विभागहरुलाई बेरुजु फस्र्यौटमा गम्भीर हुन, बजेटलाई नियमसम्मत रुपमा खर्च गर्न र हरहिसाब दुरुस्त राख्नका साथै बेरुजु फर्छ्याेटमा उत्कृष्टता हासिल गर्न मिहिनेत गर्नुस् भनेर आह्वान गर्न चाहन्छु ।'
गृहमन्त्री खाँणले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालले बेरुजु फस्र्यौट कार्यमा उत्कृष्टता हासिल गरेको भन्दै प्रशंशा समेत गर्नुभयो । कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक खनालले आफू सेवाबाट अवकाश प्राप्त भएपनि देश र जनताप्रति सदा उत्तरदायी भएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले संगठनमा रहँदा आफूले देश र जनताको सेवामा समर्पित भएर लागेको र त्यो अनुभवलाई आउने दिनमा पनि प्रयोगमा ल्याउने कामलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा मन्त्री खाँणले खनाललाई उत्कृष्ट बेरुजु फर्छ्याेट सम्मान पनि प्रदान गर्नुभएको थियो ।