पुष्पराज अधिकारी
हेटौंडा । मकवानपुरका १९ वटा मतदान स्थल अतिसंवेदनशील रहेको पाइएको छ । आउँदो बैशाख ३० गते हुने स्थानीय तहको चुनाबमा १ सय ६५ मतदान स्थल मध्येमा १९ वटा अतीसंवेदनशील रहेको हो ।
आसन्न स्थानीय तहको निर्वाचनका सन्दर्भमा यस मकवानपुर जिल्लाभित्र १० वटा स्थानीय तहमा कुल जम्मा १ सय ६५ वटा मतदानस्थल र ३ सय ५६ वटा मतदान केन्द्रहरू कायम भएको छ । सुरक्षाका दृष्टिकोणले १९ वटा अतिसंवेदनशील, ६० वटा संवेदनशील र बाँकी ८६ वटा सामान्य रहेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्लाभित्र स्थानीय तहको निर्वाचन भयरहित शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्नका निम्ति गृह मन्त्रालयबाट प्राप्त स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८ का आधारमा मकवानपुर जिल्लाको स्थानीय तह निर्वाचन विशेष सुरक्षा योजना जिल्ला सुरक्षा समितिबाट पारित गरी कार्यान्वयनमा ल्याइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभयो ।
विशेष सुरक्षा योजनाका आधारमा जिल्लाभित्रका करिब ४० प्रतिशत भन्दा बढी मतदानस्थल तथा मतदान केन्द्रहरूको निरीक्षण प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेको नेतृत्वमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबाट भइसकेको र बाँकी मतदानस्थल तथा मतदानकेन्द्रहरूको निरीक्षण भइरहेको छ ।
स्थानीय तहको निर्वाचनलाई भरपर्दो एवं विश्वसनीय बनाउन जिल्लाभित्र रहेका इजाजतपत्र प्राप्त हातहतियारहरू मिति २०७८ साल चैत्र मसान्तसम्म नजिकको प्रहरी इकाईमा बुझाउन हतियार धनीहरूको लागि मिति २०७८ साल चैत ११ मा सूचना समेत प्रकाशन गरि हातहतियार बुझ्ने कार्य भइरहेको उहाँले बताउनुभयो ।
जिल्लामा १ हजार ४ सय ७३ जना म्यादी प्रहरी छनौट गरी आजबाट जिल्ला प्रहरी कार्यालय, मकवानपुरद्वारा तालिम प्रदान गर्ने कार्य प्रारम्भ गरिएको छ । यसका साथै स्थानीय तहको निर्वाचनका समयमा जिल्लाभित्रका विभिन्न मतदानस्थलरमतदानकेन्द्रहरूमा खटिने कर्मचारीहरूको विवरण तयारीको कार्य समेत भइरहेको छ ।
प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबाट मतदानस्थल र मतदानकेन्द्रहरूको निरीक्षण समेत गरिएको छ ।