कालीकोट । नरहरिनाथ गाउँपालिका–१ कोटवाडामा निर्माणाधीन सुनथराली विमानस्थलको धावनमार्गमा आगामी असार मसान्त भित्रमा कालोपत्रे सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यसका लागि आगामी वैशाखको पहिलो हप्तादेखि काम सुरुआत हुने जनाइएको छ ।
अहिले विमानस्थलको टावर, भवन , वरपर माटो काट्ने र नाला बनाउने काम सम्पन्न भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर रत्नबहादुर श्रेष्ठले जानकारी दिनुभयो । “आगामी वैशाख पहिलो हप्तादेखि विमानस्थलको धावनमार्गमा कालोपत्रे सुरु गर्ने गरी काम भइरहेको छ ।” उहाँले भन्नुभयो, “लामो समयदेखि काम नहुँदा अन्यौलमा रहेको विमानस्थल पछिल्लो वर्षमा द्रुत गतिमा काम भएको हो ।
विमानस्थलसम्म सडक नपुग्नु, विगतको सशस्त्र द्वन्द्व, कोभिडलगायतका कारणले विमानस्थलको काम कछुवाको गतिमा भएको थियो । यस आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीलाई प्राधिकरणले समयसीमा दिएको छ । धावनमार्ग ६९० मिटर लम्बाइ र ६० मिटर चौडाइ रहने छ । विसं २०४२ देखि हालसम्म विमानस्थल निर्माणमा ३९ करोड खर्च भइसकेको जनाइएको छ ।
विमानस्थलसम्म निर्माण सामग्री लैजान ठेकेदार कम्पनीलाई समस्या भएको गौरी पार्वती श्याम एण्ड शङ्कर जेभीका प्रतिनिधि कलम केसीले जानकारी दिनुभयो । “कच्ची, अप्ठे्यारो सडक भएकाले निर्माण सामग्री लिन निकै गाह्रो छ ।” उहाँले भन्नुभयोे, “हामीले वैशाखको पहिलो हप्ताबाट धावनमार्ग कालोपत्रे गर्ने तयारी गरेका छौँ । असारसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।”
सो कम्पनीले कालोपत्रे गर्न, नाला र माटो काट्न १३ करोड ८१ लाख ठेक्का लिएको तथा भवन र टावर निर्माणका लागि पिआर इन्फ्रास्टक्चरले तीन करोड ४७ लाख ७४ ठेक्का लिएको जनाइएको छ ।